मध्यरातमा पक्राउ परेका प्रसाईँलाई सरकारी वकिलको कार्यालय लगियो


काठमाडौं, २ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंको म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले प्रसाईँलाई हिजो (आइतबार) मध्यरातमा पक्राउ गरेको थियो ।

आगामी मंसिर ७ गते देश नै ठप्प पार्ने गरी आन्दोलनको चेतावनी दिइरहेका प्रसाईंलाई प्रहरीले भक्तपुरको ठिमीस्थित निवासबाटै पक्राउ गरेको हो । मेडिकल व्यवसायीसमेत रहेका प्रसाईंलाई शान्ति सुरक्षामा खलल पुर्‍याउन खोजेको आरोपमा पक्राउ गरेर जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको छ ।

प्रसाईंले सोमबार मात्रै काठमाडौंमा पत्रकार सम्मेलन गरेर मेची(महाकाली सबैतिर ठप्प पार्ने घोषणा गरेका थिए । प्रसाईं र उनका समर्थकले मंसिर ७ गते गणतन्त्र र भ्रष्टाचारको विकल्पमा आन्दोलन गर्ने घोषणा गरेका थिए ।

प्रसाईंका कारण भड्किन सक्ने सम्भावित हिंसा र असुरक्षाको अवस्था आउन नदिन उनलाई नियन्त्रणमा लिएको हो । प्रसाईं र उनका समर्थकले मंसिर ७ गते काठमाडौंबाट गणतन्त्र र भ्रष्टाचारको विकल्पमा आन्दोलन गर्ने घोषणा गरेका थिए । File Photo/RN