काठमाडौं, २ मंसिर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका नेपाल कम्युनिष्ट पार्टीले नाम परिवर्तन गर्ने निर्णय गरेको छ । नेकपाबाट नाम परिवर्तन गरेर नेकपा (माओवादी) नाम राख्ने निर्णय भएको बताइएको छ । विप्लव नेतृत्वको नेकपाले निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को नाममा दल दर्ता गराएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले आज आयोगबाट दल दर्ताको प्रमाणपत्र पाइसकेको छ । नेकपा (माओवादी) का महासचिव विप्लवलाई कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले दल दर्ताको प्रमाणपत्र दिएका हुन् । विप्लव नेतृत्वको नेकपा (माओवादी) ले गुलाफको फूल चुनाव चिन्ह पाएको छ ।
माओवादी सशस्त्र संघर्षपछि २०७०, २०७४ र २०७९ मा भएका निर्वाचन बाहिस्कार गरेको विप्लवले पहिलो पटक निर्वाचनमा भाग लिन लागेका हुन् ।
यता माओवादी सशस्त्र संघर्षको नेतृत्व गरेका सुप्रिम कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने पार्टीको नाम परिवर्तन गरेर नेपाली कम्युनिष्ट पार्टी राखेका छन् । नेकपा (एमाले) सँग चोइटिएर बनेको दल नेकपा (एकीकृत समाजवादी), माओवादी केन्द्रलगायतका कम्युनिष्ट घटकहरु मिलेर नेपाली कम्युनिष्ट पार्टी बनेको हो ।
प्रचण्डले सशस्त्र संघर्षको सन्दर्भमा माओवादीमाथि लाग्ने गरेको आरोपलाई सुन्न नचाहेर नाम परिवर्तन गरेर भनी टिप्पणी भइराखेको बेलामा विप्लवले आफ्नो पार्टीमा माओवादी नामलाई स्थान दिएका हुन् ।




प्रतिक्रिया