गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडौँ । सिरहाको गोलबजार नगरपालिकामा हाटबजारको राजस्व छुट दिएको र असुल गर्नुपर्ने रकम नउठाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

आयोगका अनुसार आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा पशु, बाख्रा तथा गुदरी हाटबजारको राजस्व सङ्कलनमा अनियमितता हुँदा १ करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ १० पैसा सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी भएको छ ।

अनुसन्धानमा आर्थिक वर्ष २०७७/७८ मा कानुनी प्रक्रियाविपरीत २७ लाख ३४ हजार ९१३ रुपैयाँ राजस्व छुट दिइएको र आर्थिक वर्ष २०७८/७९ मा ठेकेदारबाट असुल गर्नुपर्ने १ करोड ३३ लाख ११ हजार ४३१ रुपैयाँ १० पैसा असुल नगरेको पाइएको आयोगले जनाएको छ ।

आरोपपत्र दायर गरिएकामा गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख देवनाथ साहु तेली, उपप्रमुख रेशम कुमारी थापा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी, अनन्तकुमार पौड्याल, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनारायण महतो, राजस्व शाखा प्रमुख दिनेश कुमार सहनी र हाटबजार ठेकेदार वीरेन्द्रकुमार यादव छन् ।

आयोगले उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कारबाहीको माग गर्दै आरोपपत्र दायर गरेको जनाएको छ ।