काठमाडौं, ३ मंसिर । नेपाली कम्युनिष्ट पार्टीका नेता विशाल खड्काले दलहरु निर्विकल्प चुनावमा जानुको विकल्प नरहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले उनले राजनीतिक दल र नेताहरुको न्यायाधीश जनता रहेकाले संकटको बेलामा उनीहरुसँग नै सोध्नुपर्ने बताएका हुन् । चुनाव नै निशर्त विकल्प रहेको उनले बताए ।
‘निर्विवाद हामी चुनावमा जानुपर्छ । हामीले हाम्रा न्यायाधीशहरु जनता भनेर मानेका हुन्छौं । हामीले दल खोलेको भनेको जनताका लागि हो । देश संकटमा छ भने हामीले जनतालाई नै सोध्ने कुरा हुन्छ । यो निशर्त विकल्प हो,’– उनले भने ।
संसद् पुनर्स्थापना गर्ने एमालेको अहंकारले देशलाई निकास दिन्छ भन्ने आफूलाई विश्वास नरहेको उनले बताए । राजनीतिक दलहरुले निर्वाचनलाई स्वीकार गर्ने, सरकारले पनि निर्वाचनको वातावरण बनाउने र भयरहित ढंगले स्वतन्त्र र निष्पक्ष निर्वाचनलाई सामना गरेर जनताको ताजा जनादेशसहित संविधानमा सही बाटोमा लिएर जान सक्नुपर्ने उनले बताए ।
संसद् पुनर्स्थापनाको एजेण्डा पछाडि फर्किने सोच रहेको उनको आरोप छ । संसद् पुनर्स्थापनाले जेन–जी आन्दोलनको उपलब्धी र जनताको चाहनालाई निराशातिर लाने उनको बुझाइ छ । नेता खड्काले अग्रगमनको बाटो रोजेर जनताबाट चुनिने कुरामा नेताहरु तयार हुनुपर्ने बताए । एकचोटी नभएर हजारचोटी जनताको परीक्षामा भाग लिन सक्नुपर्ने उनले बताए ।
सरकारले पनि चुनावको वातावरण बनाउनुपर्ने उनले बताए । नेता खड्काले सरकार चुनावी एजेण्डा छाडेर अन्ततिर बरालिन लागेको हो कि जस्तो पनि देखिएका बताए । जेन–जी आन्दोलनको पछाडिको अवस्थालाई सबै राजनीतिक दलहरुले बुझेर नब्युँझिएमा अहिलेको पुस्ताको भावनाको सम्बोधन हुन नसक्ने नेता खड्काको भनाइ छ ।
उनले जेन–जी आन्दोलनले उजागर गरेको समस्या समाधानको उपाय के होला भन्ने कुरा सोच्न आवश्यक रहेको बताए । अहिले आफूहरु एकतावद्ध कम्युनिष्ट पार्टी बनाउने चरणमा रहेको बताए । अहिलेको सन्दर्भमा एकीकृत पार्टी बनाएर जानुको विकल्प नरहेको उनले बताए । आफ्नो दल नेपाली कम्युनिष्ट पार्टी चुनावको लागि सम्पूर्ण रुपमा तयार रहेको उनले बताए ।




प्रतिक्रिया