काठमाडौं, ५ मंसिर । नेपाली कांग्रेसका २७ जना केन्द्रीय सदस्यहरुले पार्टीको १५औं महाधिवेशन पुसभित्रै हुनुपर्ने भनेर सभापति शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गरेका छन् । हिजो (बिहीबार) केन्द्रीय सदस्य आङगेलु शेर्पालगायतका नेताहरु सभापति देउवालाई भेट्न पुगेका थिए । सो क्रममा उनीहरुले आगामी पुसभित्रै नियमित महाधिवेशन हुनुपर्ने भन्दै सभापति देउवाको ध्यानाकर्षण गराए ।
सो क्रममा सभापति देउवाले आफूले धेरैजसो जिम्मेवारी छाडिसकेको जवाफ दिए । उनले महाधिवेशनबारे एक पटक कार्यवाह सभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मालगायतसँग कुरा गर्न सुझाव दिए । मध्यमार्गी बाटो खोजिरहेको २७ कांग्रेस केन्द्रीय सदस्यहरुलाई सभापति देउवाले सहमति जुटेको खण्डमा अधिवेशनमा जानको लागि कुनै समस्या नरहेको बताए ।
‘मैले जिम्मेवारी धेरैजसो छोडिसकेको छु । एकपटक कार्यवाहक सभापतिजीसँग पनि कुरा गर्नुस् । महामन्त्रीजीहरुसँग पनि कुरा गर्नुस् र पदाधिकारी साथीहरुसँग पनि कुरा गर्नुस् । सहमति जुटाउनु भयो भने नियमित अधिवेशनमा नै जुटौं । उहाँले त्यो भन्नुभएको छ,’– नेता शेर्पाले भने ।
नेता शेर्पाका अनुसार सभापति देउवाले बलियो कांग्रेस देख्न चाहेको पनि बताए । अहिलेको कांग्रेस फुटेर होइन, जुटेर जानुपर्छ भन्ने पक्षमा सभापति देउवा रहेको उनको भनाइ छ ।




प्रतिक्रिया