काठमाडौं, ५ मंसिर । जेन–जी अगुवा शिवजी यादवले नेकपा (एमाले) चुनावमा जानबाट डराइरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै यादवले एमालेले चुनाव जान नचाहेर सरकारविरुद्ध अनेक प्रकारका भ्रमहरु फैलाइरहेको बताएका हुन् । एमालेले फेरि यो देशमा अशान्ति चाहेको उनको आरोप छ ।
जेन–जी अगुवा यादवले चुनावको वातावरण बनाउनका लागि एमाले अध्यक्ष केपी शर्मा अोली र पोलिटव्यूरो सदस्य महेश बस्नेतलाई पक्राउ गरिनुपर्ने बताए । उनीहरुले गुण्डुबाट देशभरको चुनावको वातावरण भाँडिरहेको र सरकारविरोधी गतिविधि गरिरहेको जेन–जी अभियन्ता यादवको भनाइ छ ।
‘केपी शर्मा ओली र महेश बस्नेतलाई पक्राउ गरी कारबाही नभएसम्म यो देशमा चुनाव हुन सक्दैन जस्तो मलाई लागिरहेको छ । देशभरीका जेन–जी साथीहरुलाई यही लागिरहेको छ । चुनावी वातावरण बन्दै गर्दा उहाँहरुले मधेशमा अराजकता मच्चाइराख्नु भएको छ । होटलमा गएर गैरसंवैधानिक रुपमा सरकार निर्माण गर्छ । सांसदहरुको पदमुक्त गर्छ । बारामा अर्काको कार्यक्रममा गएर हुलदंगा गर्छ । यो अवस्था रहँदै गयो भने कसरी चुनाव गराउने ?’ प्रश्न गर्दै उनले भने ।




प्रतिक्रिया