विपी, गणेशमान र कृष्णप्रसादजस्ता नेताहरुले जन्माएको कांग्रेसमा अहिले राजनेताको अभाव देखियोः नेता गुरुङ


काठमाडौं, ६ मंसिर । नेपाली कांग्रेसका नेता नवराज गुरुङले पार्टीको महाधिवेशन कहिले गर्ने भन्ने कुरा तत्काल टुङ्गोमा पुग्नुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले महाधिवेशनको मिति टुङ्गो लगाउन ढिला गरियो भने यो नेपाली जनता, देश र प्रजातन्त्रको लागि दुर्भाग्य हुने बताएका हुन् ।

‘यो निर्णय चाँडोभन्दा चाँडो गर्नुपर्ने, आजकै दिनमा यो निर्णय टुङ्गो लगाउनुपर्छ । ढिला गरियो भने कांग्रेस, देश र प्रजातन्त्रको लागि दुर्भाग्य हुनेछ । त्यसकारणले आजकै दिनमा यो टुङ्याउनुपर्छ भन्ने मेरो मान्यता रहेको छ,’– उनले भने ।

अहिले कांग्रेसको निमित्त महाधिवेशन अपरिहार्य रहेको, केन्द्रीय समिति बैठक भइरहेको बेलामा मिति तोकिनुपर्ने र अब सहमति खोजिनुपर्ने जरुरत रहेको बताए । विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गर्ने ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुलाई पनि सम्मान गर्नुपर्ने जरुरत रहेको उनको भनाइ छ । तर, निर्वाचनपछि अधिवेशन गर्ने कुरालाई पनि नराम्रो मान्न नहुने उनले बताए ।

उनले विश्वेश्वर प्रसाद कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईजस्ता नेताहरुले जन्माएको नेपाली कांग्रेसमा आज राजनेताको खाँचो परेको बताए । अहिले कुनै पनि हालतमा विशेष महाधिवेशन हुन सक्ने अवस्था नरहेको र अहिले कांग्रेसले नियमित अधिवेशन गर्नुपर्ने बताए । नियमित महाधिवेशन पनि फागुन २१ गतेको चुनावभन्दा अगाडि गर्न सकिने आवस्था नरहेको उनको भनाइ छ । आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले निर्णय गरेर जानुपर्ने बताए ।

अहिले महत्वपूर्ण समय भनेको फागुन २१ गतेको निर्वाचन नै रहेको उनले बताए । तबमात्रै देशमा राष्ट्रियता र प्रजातन्त्र बच्न सक्ने उनले बताए । कांग्रेसले फागुन २१ गतेको निर्वाचन सम्पन्न गराउन सकेन भने देशको लागि घातक हुने उनको भनाइ छ ।