काठमाडौं, ६ मंसिर । नागरिक समाजका अगुवा डा.सुन्दरमणि दीक्षितले अब संसदीय निर्वाचनले देशलाई निकास दिन नसक्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते संसदीय निर्वाचन गराउने भनेर जेन–जी आन्दोलनमाथि धोका दिएको बताए । अब पाँच/छ वटा मुद्दाको छिनोफानोका लागि संसदीय निर्वाचनभन्दा पहिला जनमत संग्रहको आवश्यकता रहेको बताए ।
‘जेन–जीको माग प्रत्यक्ष निर्वाचित कार्यकारी नै छ । यहाँ ठूलो धोका भएको छ । फागुन २१ गतेको चुनाव कुनै हालतमा निकास होइन । यो चुनाव हुन सक्ने कि नसक्ने अवस्था रहेको छ । भयो भने पनि यसले निकास त दिनै सक्दैन । कि जनमत संग्रहमा जाउँ न त ? त्यो बेटर हुन्छ । पाँच/छ वटा मुद्दाहरु छन्, त्यसलाई पनि टुङ्गो लगाउन न त,’– उनले भने ।
नागरिक समाजका अगुवा डा.दीक्षितले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार गठन सुरुदेखि नै गलत रहेको बताए । जेन–जीको मुद्दा संसदीय व्यवस्था नभएर प्रत्यक्ष कार्यकारीमा जाने भनिसकेपछि त्यसलाई बेवास्ता गरेर चुनाव–चुनाव भन्न नहुने बताए । जेन–जीको क्रान्ति संसदीय व्यवस्थाको लागि नरहेको र यही संविधानमा टेकेर केही पनि सम्बोधन नहुने उनले बताए । जनताको मन बुझ्न चाहने हो भने व्यवस्थालगायतका कुरामा जनमत संग्रहमा जानुपर्ने उनले बताए । ‘संसदीय व्यवस्था कि कार्यकारी, राजसंस्थालाई राख्ने कि नराख्ने मुद्दाहरु छन् नि । जनमत संग्रहमा जाउँ । चुनावबाट निकास हुँदैन । अहिलेको चुनाव मेरो विचारमा अर्थ न ब्यर्थको हो,’– उनले भने ।
वर्तमान सरकारलाई अहिले एमाले अध्यक्ष केपी शर्मा अोलीले धम्की दिइरहेको उनले बताए । अहिलेको सरकारले ओलीलाई छुन पनि नसकेको उनको टिप्पणी छ । दुर्गा प्रसाईँको गिरफ्तारीप्रति असन्तुष्टि जनाउँदै उनले यो सरकारमा निर्धोलाई खत्तम पार्ने र शक्तिशालीलाई छुदै नछुने प्रवृत्ति दखिएको बताए ।
अब सर्वोच्च अदालतले संसद् व्युँताएको खण्डमा संविधान संशोधन गरेर प्रदेश खारेज गरिनुपर्ने र प्रत्यक्ष कार्यकारीको बाटोमा जानुपर्ने उनले बताए । होइन भने जेन–जीलाई बिर्साउने बिद्रोहनिकट भविष्यमै आउने र देशले थेग्न नसक्ने उनको भनाइ छ ।




प्रतिक्रिया