काठमाडौं, ७ मङ्सिर । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा जारी अस्थिर राजनीतिक परिवेषलाई निर्वाचनमार्फत समाधान गर्न सकिने बताएका छन् ।
नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ मा घलेगाउँ सांस्कृतिक भवनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री दाहालले नेपाली नागरिकको आत्मनिर्णयको अधिकार जोखिममा परेकाले त्यसको पुनःस्थापनाका लागि एकमात्र विकल्प निर्वाचन रहेको बताए । त्यसका लागि तोकिएको समयमा निर्वाचन गराउन राष्ट्रिय राजनीतिक एकताको आवश्यकता रहेको उनको भनाइ थियो ।
‘कम्युनिष्ट घटकमात्र होइन कांग्रेसलगायतका सम्पूर्ण राजनीतिक शक्ति एकजुट भएर चुनाव सम्पन्न गर्न केन्द्रित हुनुपर्छ । फागुन २१ गते समयको अभावले चुनाव हुन नसक्ने भएमा आगामी वैशाखदेखि जेठ पहिलो सातासम्ममा ताजा जनादेश लिनुपर्छ । देशमा जारी अस्थिरतालार्ई निकास दिएर नयाँ गतिमा अघि बढ्नुपर्छ,’– उनले भने ।
चुनावका लागि नेपाली कांग्रेससहितका दल तयारीमा लागिसकेकाले नेकपा (एमाले) ले पनि सहभागी हुने संयोजक दाहालले विश्वास व्यक्त गरे । ‘सबै शक्ति एकजुट भएर चुनावमा लाग्नुपर्छ ।यसमा नै सबैको भलो हुन्छ,’– प्रचण्डले भने ।




प्रतिक्रिया