केपी अ‍ोलीसँग मुलुकलाई दिने यो भन्दा बढी केही छैन, अब प्रतिस्पर्धा गर्नु उचित हुँदैनः योगेश भट्टराई


काठमाडौं, ८ मंसिर । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा अ‍ोलीले अब नेतृत्वको लागि प्रतिस्पर्धा गर्नु उचित नहुने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता भट्टराईले अब मुलुकलाई यो भन्दा बढी दिन केपी ओलीसँग केही पनि नरहेको टिप्पणी गरेका हुन् । नेता भट्टराईले अब ओलीले सक्रिय राजनीतिबाट विश्राम लिएर नयाँ ढंगले आगामी जीवन बिताउँदा उचित हुने बताए ।

‘उहाँले आफैं नेतृत्व हस्तान्तरण गर्नुहुन्छ । अब उहाँले जति दिनुपर्ने यो मुलुकलाई दिइसक्नुभयो । अब यो भन्दा बढी दिने उहाँसँग केही पनि छैन । जब आफूसँग दिने केही छैन भने सकृय राजनीतिबाट विश्राम लिएर आगामी जीवन नयाँ ढङ्गले विताउनु उहाँको निम्ति राम्रो हुन्छ । फेरि लडाइ भिडाइ र प्रतिस्पर्धामा आउनुभयो भने उहाँको निम्ति त्यो ठूलो दुर्भाग्य हुनेछ । केपी ओलीले अब प्रतिस्र्धा गर्नु उचित हुँदैन,’– उनले भने ।

ओलीले अब ११औं महाधिवशेनमा नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रिन नमिल्ने बताए । पटक–पटक एउटै कक्षामा नपढ्न नेता भट्टराईले ओलीलाई सुझाव दिए । अहिले देश नै संकटमा रहेको, संविधान मिचिएको, लोकतन्त्र अपहरित भएको अवस्थामा एमाले अब एक भएर अगाडि बढ्नुपर्ने उनले बताए । पार्टीभित्र उच्च राजनीतिक संस्कार स्थापित गरेर अगाडि बढिने उनले बताए । पार्टीभित्र आपसी विश्वास स्थापित गरिने उनले बताए । नेता र कार्यकर्ताको सम्बन्ध मालिक र नोकरको जस्तो नभएर कमरेडली भावनाको विकास गरिने उनले बताए ।