काठमाडौं, ८ मंसिर । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले तत्कालीन प्रधानमन्त्री केपी शर्मा अोलीले जेन–जी आन्दोलनका सहिद परिवारसँग क्षमा माग्नुपर्ने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता भट्टराईले त्यो बेलाको सरकार जिम्मेवारी र जवाफदेहिताबाट मुक्त हुन नसक्ने बताए । किन त्यस्तो घटना भयो, कहाँ कमजोरी भयो भनेर अोलीमाथि पनि सोधपुछ हुनु स्वभाविक रहेको उनको भनाइ छ ।
‘त्यो बेला सरकार छ, यत्रो घटना घटेको छ भने ऊ जिम्मेवारीबाट मुक्त कसरी हुन्छ त ? उ जवाफदेहिताबाट मुक्त कसरी हुन्छ त ? हुँदैन नि । ऊ कसरी त्यहाँबाट भाग्न मिल्छ त, भाग्न मिल्दैन नि । त्यसको मतलब केपी अोली, रमेश लेखकलाई पक्रेउ, जेलमा हाल भनेको होइन नि मैले । तर, उहाँहरु माथि पनि त सोधपुछ हुन्छ । किन त्यस्तो भयो ? कहाँबाट कमजोरी भयो ? त्यो उहाँहरुले बताउनुपर्छ नि त । विनम्रतापूर्वक उहाँहरुले ती २२/२३ जना युवाको परिवारसँग क्षमा माग्नुपर्छ नि त । क्षमा नमागी हुन्छ ? क्षमाशील नभइ हुन्छ ? त्यो पीडामा हामी समाहित हुन पर्दैन ?’ प्रश्न गर्दै उनले भने ।
साथै, भदौ २३ र २४ गतेको घटनासम्बन्धी छानविन गर्न बनेको आयोगमा गएर ओलीले बयान दिनुपर्ने नेता भट्टराईले बताए । गौरीबहादुर कार्की नेतृत्वको उक्त आयोगमाथि एमालेले केही शंका गरेका र अध्यक्ष बन्नुभन्दा पहिला आफ्ना स्टाटसहरुमार्फत कार्कीले एमाले र केपी अोलीप्रति लक्षित गरेर आक्रमक शैलीका केही कुराहरु लेखेको उनले बताए । त्यो कुराले उनको निश्पक्षतामाथि एमालेले प्रश्न उठाएको उनले बताए । त्यसकारण एमालेले तत्कालीन प्रधानमन्त्री ओलीले बयान दिन जान हुँदैन भनेर निर्णय गरेको उनले बताए । तर, व्यक्तिगत रुपमा भने आफू ओलीले बयान दिनुपर्ने पक्षमा रहेको उनले सुनाए । बयान दिएर ओलीको कद नघट्ने उनको भनाइ छ ।
‘तर, मलाई व्यक्तिगत रुपमा भन्नुहून्छ भने हाम्रो अध्यक्षले सम्मानजनक ढंगले त्यहाँ गएर बयान दिनुपर्छ । आयोगले चिठी नकाटी जानुपर्छ भन्छु म त । आजै जानुस्, भोलि नै जानुस्, त्यसले केपी ओलीको कद घट्दैन । तर, मेरो मान्यतामा पार्टीले निर्णय गरेको छैन,’– उनले भने ।




प्रतिक्रिया