मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले सिंहदरबारमा इन्ट्री पाएन, गेटमै मागपत्र टाँस्न बाध्य


काठमाडौं, ८ मंसिर । मिराज ढुंगाना नेतृत्वको जेन–जी समूहले सिंहदरबारको दक्षिण गेटमा आफ्नो मागपत्र टाँसेको छ । प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर मागपत्र बुझाउनका लागि पुगेका उनीहरु सिंहदरबार छिर्न नपाएपछि गेटमै मागपत्र टाँसेर बाहिरिएका हुन् ।

ध्यानाकर्षण पत्र बुझाउनका लागि प्रधानमन्त्री सुशीला कार्कीले समय नदिएको उनीहरुको गुनासो छ । उनीहरुले हालसम्म भएका सबै भ्रष्टाचार छानविन गर्न अधिकार सम्पन्न आयोग गठन हुनुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको निर्वाचन, विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था, जेन–जी विद्रोहलाई तत्काल राजनीतिक आन्दोलन घोषणा गरिनुपर्ने लगायतका मागहरु राखेका छन् ।

यस्तो छ मागः

१.हालसम्मका सबै भ्रष्टाचार छानबिन गर्न अधिकार सम्पन्न आयोग गठन गर।

२. स्थिर सरकारका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको निर्वाचन गर।

३. विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गर।

४. जेन–जी विद्रोहलाई तत्काल राजनीतिक आन्दोलन घोषणा गर।

५.सहिद परिवार र घाइतेको उचित व्यवस्थापन गर।

६. २३ गते शान्तिपूर्ण आन्दोलनमा भएको दमनको निष्पक्ष छानबिन गरी दोषी उपर कडा कारबाही गर। २४ गतेको घटनालाई निष्पक्ष छानबिन गरी दोषी उपर कडा कारबाही गर।

७. जेन–जी आन्दोलन लगायतका राजनीतिक प्रतिशोधका आधारमा चलाएका मुद्दाहरू फिर्ता गर र विधिको शासन कायम गर।

८. प्रादेशिक खर्चले देशलाई आर्थिक रूपमा धेरै पछाडि पुर्‍याएको छ । त्यसैले प्रदेश सरकारका अनावश्यक खर्च व्यापक रूपमा घटाउन प्रदेश सरकारको पुनर्संरचना गर।

९. यी कुरा संविधान पुनरवलोकन र सुधार नगरी नहुने भएकाले तत्काल जनभावना बुझी संविधान सुधार गरी मात्र अर्थपूर्ण चुनावतर्फ लाग।