महाधिवेशनको गाँठो फुकाउन कांग्रेसलाई सकस, महामन्त्रीद्वय र कार्यवाहक सभापति छलफलमा जुटे


काठमाडौं, १० मंसिर । नेपाली कांग्रेसभित्र यतिबेला संस्थापन समूह र इत्तर समूहमा पार्टीको १५औं महाधिवेशनलाई लिएर मतभेद छ । संस्थापन समूहको मत आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनपछि मात्रै महाधिवशेन गर्ने रहेको छ । यता इत्तर समूहले भने जसरी भए पनि मंसिरभित्रै महाधिवेशन हुनुपर्ने, यदि नियमित महाधिवेशन सम्भव नभएमा विशेष महाधिवेशन बोलाउनुपर्ने अडान राखेको छ ।

महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन कुमार थापा पनि मंसिरभित्रै महाधिवेशन वा विशेष महाधिवेशनको पक्षमा उभिएका छन् । विशेष महाधिवेशनको माग गर्दै कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर बुझाइसकेका छन् । कांग्रेसको विधानअनुसार कम्तिमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेमा ३ महिनाभित्रमा विशेष महाधिवेशन आह्वान गर्नुपर्ने हुन्छ ।

कांग्रेसभित्र महाधिवेशनको गाँठो फुकाउन सकस देखिएको छ । प्रतिनिधिसभा निर्वाचनपछि महाधिवेशन गर्ने कि अगाडि गर्ने भन्ने विषयको छलफलमा आज महामन्त्रीद्वय शर्मा, थापा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का जुटेका छन् । अहिले खड्का निवास गोल्फुटारमा नेतात्रयबीच छलफल भइरहेको बताइएको छ ।