हत्यापछि गाडिएको अवस्थामा २५ वर्षीया महिलाको शव फेला


काठमाडौं, १० मंसिर । हत्यापछि गाडिएको अवस्थामा एक २५ वर्षीय महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार वृन्दावन नगरपालिका–९ भुसाहाकी २५ वर्षीय श्रीमती तरिमा खातुनको हत्यापछि खाडल खनेर गाडिएको अवस्थामा शव बरामद भएको हो ।

मृतक महिला खातुनका श्रीमान महमद शेख आदिल भने वैदेशिक रोजगारीका लागि साउदी अरबमा छन् । उनको हत्या परिवारकै सदस्यहरुले गरेको आशंका प्रहरीको रहेको छ । ती महिलाको हत्यापछि परिवारका सबै सदस्यहरु फरार रहेको प्रहरीले बताएको छ ।

खातुनको सोमबार राति हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनापछि परिवारका ८/९ जना सदस्य सबै फरार रहेका छन् । गाईवस्तुका लागि भुस्सा राख्नका लागि बनाइएको ठाउँमा खाडल खनेर खातुनको शव गाडेको अवस्थामा फेला परेको थियो । खातुनको शव बोरामा हालेर पुरिएको अवस्थामा फेला परेको थियो । घरायसी विवादको कारण खातुनको हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।