प्रधानमन्त्री कार्कीको अभिव्यक्तिले मुस्लिम समुदाय रुष्ट, माफी माग्न सुझाव


काठमाडौं, १० मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले मुस्लिम समुदायमाथि अपमान गरेको भन्दै मुस्लिम अगुवाहरुले आपत्ति जनाएका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै मुस्लिम अगुवाहरुले प्रधानमन्त्री कार्कीलाई आफ्नो अभिव्यक्ति फिर्ता लिन चेतावनी दिएका हुन् । प्रधानमन्त्री कार्कीले एक सार्वजनिक कार्यक्रममा मुस्लिम समुदायको सन्दर्भमा दिएको अभिव्यक्ति विवादित बनेको थियो ।

प्रधानमन्त्री कार्कीले भनेकी थिईन्, ‘मुसलमानको व्यवहार र प्रवृत्ति जुन छ, यति अन्यायपूर्ण देखिन्छ दिउँदै लगेर गाड्ने । कतिपय मुस्लिम देशहरुमा महिलालाई पढ्न नदिने । जब मुसलमानहरुले हमला गर्न थाले, त्यसपछि उनीहरुले सात वर्षको बच्चालाई पनि विवाह गर्ने, अरु कुराहरुलाई पनि सङ्र्कीण बनाउँदै लगे भन्ने छ ।’

मुस्लिम अगुवा मुन्ताज खानले प्रधानमन्त्री कार्कीले मुस्लिम समुदायको बदनाम गरेको बताईन् । गलत अफवाह फैलाउनेमाथि सरकारले कारबाही गर्नुपर्ने उनको माग छ । ‘उहाँले हामीलाई बदनाम गराउनुभएको छ । कुनै पनि धर्मले ७ वर्षको बच्चालाई विवाह गर भन्दैन । यो विषयलाई गम्भीर सोचेर अगाडि बढ्नु्पर्छ । आगामी दिनमा यस्ता धर्म युद्ध गराउने, मुसलमानप्रति अफवाह फैलाउने र गलत कुरा गर्ने मान्छेलाई सरकारले कडाभन्दा कडा कारबाही गर्नुपर्छ,’– उनले भनिन् ।

त्उसैगरी मुस्लिम अगुवा सलाउदिन दर्जी प्रधानमन्त्री कार्कीको अभिव्यक्ति निन्दनीय रहेको बताए । अभिव्यक्ति फिर्ता लिएर मुस्लिम समुदायसँग माफी माग्नका लागि उनले सचेत गराए । ‘उहाँले आफ्नो अभिव्यक्ति फिर्ता लिनुपर्छ । हामी यहीबाट तपाईँलाई सचेत गराउन चाहन्छौं,’– उनले भने ।

मुस्लिम अगुवा ताज मोहम्मद मियाले प्रधानमन्त्री कार्कीले साम्प्रदायिक विखण्डण ल्याउने अभिव्यक्ति दिएको बताए । मुस्लिम समुदायमाथि प्रधानमन्त्री कार्कीले गरेको टिप्पणी घोर निन्दा र भर्त्सनायोग्य रहेको बताए । उनले प्रधानमन्त्री कार्कीलाई मुस्लिम समुदायको इतिहास पढ्न प्रधानमन्त्री कार्कीलाई सुझाव दिए ।

उनले उत्पीडनमा परेका मुस्लिम समुदाय उठेको खण्डमा प्रधानमन्त्री कार्कीलाई बालुवाटारबाट निकाल्न ४ घण्टा पनि नलाग्ने बताए । आफूहरुलाई हेपाहा प्रवृत्ति नदेखाउन र आफ्नो भनाइ सच्याउन उनले चेतावनी दिए । माफी माग्नु नै प्रधानमन्त्री कार्कीको लागि उत्तम उपाय हुने उनले बताए ।

‘यो सरकार निरीह छ । एक हजार जना मान्छेलाई आवाज उठाएर आइदियो भने यो सरकार ढल्छ । यो सरकार हाम्रो समर्थनमा बनेको सरकार हो । तर, हाम्रो समर्थनलाई लत्याएर, भावनामा चोट पुर्याएर जुन अभिव्यक्ति दिनुभएको छ । त्यसको म घोर भर्त्सना गर्न चाहन्छु । तपाईँले आफ्नो शब्द फिर्ता लिनुस्,’– उनले भने ।

वरिष्ठ अधिक्ता डा.सुरेन्द्र भण्डारीले प्रधानमन्त्री कार्कीले अभिव्यक्तिले सबै नेपालीहरुको शीर लज्जित भएको बताए । वरिष्ठ अधिवक्ता भण्डारीले मुस्लिम समुदायमाथि अन्याय हुँदा अरुको पनि शीर झुक्ने बताए । समुदायलाई अपहेलित गर्नेगरी प्रधानमन्त्रीले दिएको अभिव्यक्ति कसैको लागि पनि शोभनीय नरहेको उनले बताए । प्रधानमन्त्री कार्कीले मुस्लिम समुदायसँग माफी माग्नुपर्ने उनले बताए ।

पूर्वमन्त्री अब्दुल खानले प्रधानमन्त्री कार्कीको अभिव्यक्तिले एउटा समुदायमाथि नै आघात पुगेको बताए । उनले प्रधानमन्त्री कार्कीले आम मुस्लिम समुदायसँग माफी माग्नु पर्ने बताए ।