सरकारलाई प्रभु साहको चेतावनीः जेन–जी आन्दोलनकारीलाई नछोडिए अर्को जनविद्रोह हुन्छ


काठमाडौं, ११ मंसिर । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले जेनजी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको सरकारले जेन–जी आन्दोलनकारीलाई नै पक्राउ र धरपकड गरेकोप्रति आपत्ति जनाएका छन् ।

काठमाडौंको कोटेश्वरमा आज (बिहीबार) बसेको आजपा पदाधिकारी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले पक्राउ गरिएका जेन–जी आन्दोलनकारीलाई रिहा नगरिए अर्को जनविद्रोह हुने चेतावनीसमेत दिए ।

‘सुशीला कार्कीजीको सरकार जेनजी आन्दोलनकै बलमा बनेको दुनियालाई थाहा छ । त्यसैले यो सरकारले जेनजी आन्दोलनका हत्यारा, भ्रष्टाचारीलाई कारवाही गर्नु पर्छ । तत्काल उनीहरुलाई पक्राउ गर्नुपर्छ, तर यो सरकारले उल्टै जेनजी आन्दोलनकारीलाई पक्राउ गर्ने, धरपडक गर्ने कार्य गम्भिर बिषय हो । यो हामीलाई स्वीकार्य छैन् । जेनजी हत्यारालाई पक्राउ गरेर कारवाही गर र जेनजी आन्दोलनकारीलाई तत्काल रिहा गर्नुपर्छ । हैन भने अर्को बिद्रोह हुनसक्छ । यस बारेमा प्रधानमन्त्रीजी गम्भीर हुन आवश्यक छ,’ अध्यक्ष साहले भने ।

उनले जेन–जी आन्दोलनको उपलब्धि खेर जाने खतरा रहेको बताउदै जेन–जी आन्दोलनकारी युवाहरु एकजुट हुनुको विकल्प नभएको बताए । जेनजी आन्दोलनलाई संस्थागत गर्न, मागहरुलाई सम्बोधन गर्न, आन्दोलनको उपलब्धिलाई खेर जान नदिनका लागि सबै जेनजी समूहहरु एकजुट गराएर निर्णाय संंघर्षमा उत्रिनुपर्ने अहिलेको आवश्यक्ता रहेको अध्यक्ष साहले बताए ।

‘प्रहरी÷प्रशासन जेजनी अभियन्ता र आन्दोलनकारीलाई धरपकड गरिरहेको छ । एमालेका गुण्डाहरुको स्कर्टिङमा खटिएको छ, प्रहरी एमालेको दास हो र ?’ उनले प्रधानमन्त्री कार्कीसंग प्रश्न गर्दै भने, ‘पहिला गोली हान्ने हत्याराहरुलाई कानूनी कठघरामा उभ्याउ, सुशीला–ओमप्रकाशको साँठगाँठ अपराधी बचाउनेतर्फ देखियो ।’

एमाले अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, तत्कालिन गृहमन्त्री रमेश लेखकहरुलाई यथाशीघ्र पक्राउ गर्नुपर्ने उनले बताए । अहिले चुनाव भाँड्न एमालेले युवा संघको गुण्डा प्रदर्शनी गरेकोमा त्यसको जनस्तरबाट नै प्रतिकार भइरहेको र प्रतिकार गर्न जरुरी रहेको उनले बताए ।

चुनावी सरकारमा बसेर कुलमानले बेइमानी गरिरहेको समेत उनले बताए । निर्दलीय सरकारमा सहभागी भएर दलीय अभ्यास गरिरहेका कुलमानले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने नत्र प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने उनले बताए । साथै अगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचन सफल बनाउनका लागि अन्तर्राष्ट्रिय समूदायको साथ, सहयोगबारे के कुरा भएको छ भन्ने बारेमा स्पष्ट पार्नुपर्ने बताए ।