जेन-जीहरुले आन्दोलनमार्फत चमत्कार गरे, उनीहरुप्रति नेपालीहरुले गौरव गर्नुपर्छः प्रभु साह (भिडिओसहित)


काठमाडौं, १२ मंसिर । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले जेन–जीहरुले आन्दोलनमार्फत नेपालमा चमत्कार गरेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जेन–जी आन्दोलनप्रति सबै नेपालीहरुले गौरव गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘जेन–जीहरुले नेपालमा चमत्कार गरेको छ । यसमा सबै नेपालीले गौरव गर्नुपर्छ । हामीले इतिहासमा सुनेका छौं– रामायण १३ दिन चलेको थियो, महाभारत १८ दिन चलेको थियो । नेपालको इतिहास हेर्ने हो भने १९ दिने जनआन्दोलनले राजतन्त्र फालेको थियो । विश्वमै कुनै पनि देशमा क्रान्ति हुँदा कम्तिमा १० दिन लागेको थियो । तर नेपालमा २ दिनमै सत्ता बदलाब गर्दियो । त्यसले नेपालीहरुको गौरव बढाएको छ ।’

साथै, उनले आफ्नो छोराले एमालेको पार्टी कार्यालय जलाएको भन्ने भ्रम पुष्टि गर्न चेतावनी दिए । उनले अनावश्यक भ्रम नफैलाउन चेतावनी दिए । उनले जेन–जी युवाहरुको हत्या कुनै पनि हालतमा सही भन्न नसकिने बताए । जेन–जीहरुको हत्याको प्रतिवादमा आएका मानिसहरुले आगजनी र तोडफोड गरेको उनले बताए । तत्कालीन सरकारले सामाजिक सञ्जाल बन्द गरेकै कारण जेन–जीहरु आन्दोलनमा उत्रिनुपरेको उनको दाबी छ । त्यस्तै जेन–जीको हत्यापछि नै जनता विद्रोहमा आएको उनको भनाइ छ । यसको सबै कारण केपी ओली नेतृत्वको सरकार रहेको बताउँदै उनले त्यसको जिम्मेवारी लिनुपर्ने बताए ।

उनले आफ्नो छोरा कुनै पनि अपराध गर्ने मान्छे नरहेको र शान्तिपूर्ण आन्दोलनको हिमायती रहेको उनले बताए । उनले आफ्नो छोरामाथि लगाइएको आरोप पुष्टि गर्न एमालेजनलाई चेतावनी दिए । उनले भ्रमको राजनीतिलाई पेसा नबनाउन एमालेजनलाई आग्रह गरे । ‘हुती छ भने बाहिर ल्याए हुन्छ, दण्डित गर्नुपर्छ । होइन भने अफवाह फैलाउन मिल्दैन । यस्ता वकवासपूर्ण कुराको कुनै तुक छैन । मेरो छोरा जेन–जी हो । शान्तिपूर्ण आन्दोलनमा सहभागी भएको हो,’– उनले भने ।