- तारामिलन छन्त्याल
हाते रेडियोबाट
‘चडेर बयलगाडा आउँदैछ गणतन्त्र’ भन्ने सुनेपछि
कौतुहल सँगालेर आशाको
नियाल्न गणतन्त्र
लिएर आशातीत मन
भौतारिएँ चारैतिर।
कहिले घुम्तेको लेक,
त
कहिले छ्यान्टुङ्को पाखामा,
कहिले डोलेखानी र बेलदुङ्गाको डाँडामा,
कहिले बेणी बजार,
त
कहिले धौलश्रीको प्रतिबिम्बमा
भेटिन्छ कि भनेर काँहि
खोजिरहे! खोजिरहे ।
अफसोच
देखिएन कतै गणतन्त्रको प्रकाश,
भएन कतै महसुस परिवर्तन र रुपान्तरणको विकिरण।
दौडिँदै पदचापसगैँ समयको,
खेती गर्न पसिनाको,
बोकेर हरियो पासपोर्ट
उधारो महल बनाउदै सपनाहरुको,
छिरेर राजधानी
चाहार्दैगर्दा गेटहरु मेनपावरका।
ठीक त्यतिनै बेला,
नारायणहिटी दरबारको गेट सामुन्ने
बालुवाटारका ढोकासम्म पुग्ने गल्लीहरूमा,
शीतलनिवास जाने सडक जाममा,
झिसमिसे साँझमा झल्याक–झुलुक
देखेको थिएँ गणतन्त्र मैले ।
त्यसपछि
जसरी देखेँ गणतन्त्र,
त्यसरी नै बिलाएको थियो ।
क्षणभरमा
कहाँ गयो गणतन्त्र ?
के गर्दैछ गणतन्त्र भन्ने
प्रश्नको छटपटिले
मलाई मात्र होइन,
देशलाईसमेत छटपटाइरह्यो
छटपटाइरह्यो ।
पछि पो थाहा भयो
ुगणतन्त्र
चढेर बयलगाडा
ब्राजिल, कोलम्बिया,
निकोरागुवा, पानामा, मेक्सिको हुँदै
पुगेको रहेछ अमेरिका ।
करिब दुई दशक
पार्कहरूमा लडिबढी गर्दै सिङ्गटनका,
सवार हुँदै डुङ्गामा हडसन यार्डका,
बर्गर खाँदै बर्गर किङका,
मानचित्र नियाल्दै ट्विन टावरबाट विश्वको,
चिया–गफमा गफिँदै
ज्याक्सन हाइट्समा एसियनहरुसगँ
बिताएर
उतै एक दशक ।
अचानक
काँचुली फेर्न थालेपछि देशले
कोरिएपछि संविधानको मानचित्र
रहेछ फर्किएको ।
फर्कदा देश
मात्र उm थिएन फर्किएको
संगै फर्किएका थिए केही उखान टुक्का
फर्किएका थिए केही अंग्रेजीका वाणिहरु
उसैसँग आएको थियो एमसीसीको परियोजनाहरु
उसैसँग आएको थियो केही अकल्पनीय योजनाहरु ।
जस्तोः
निकाल्ने बिजुली हावाबाट,
परिवर्तन गर्ने देश उखानबाट,
चलाउने देश अध्यादेशबाट,
लत्याउने विधि र प्रविधिलाई ।
कहिले धामी बन्ने कहिले डाक्टर
झोसेर आगो संसदमा, लगाउँदै टीका खरानीको ।
चलाउँदै गोली अवोध बालबालिकामाथि
भयो घुसपैठ भन्दै गोलीका निसानामा
समाउँदै एउटा हातमा बाल्टी, अर्को हातमा पानी,
छिरेर एकाएक भग्नावशेष भएको संसद्
तलबी नौजवानहरूले संसद् बाहिर
देखियो जोरजोर एकैसाथ चर्को नारा ।
ुपहिले यस्तो थिएन—हामीलाई काम गर्न दिइएन ।
हामीले सरकार चलाउन पाउनुपर्छ
प्रतिपक्ष बस्दैन ।
‘हाम्रो सरकार जिन्दावाद !’
‘इन्कलाभ मुर्दावाद!!’
म बबुरोले
अमेरिका पुगेर फर्केको
बयलगाडे गणतन्त्रबारे अनविज्ञ रहेछु ।
अमेरिकाबाट फर्केको गणतन्त्रले
बोकेर ल्यायो एक थान क्यामेरा
खिज्दो रहेछ श्रीमान–श्रीमतीको झगडाको कथा,
खिज्दो रहेछ गरिबहरुको अभाव र जिन्दगी
बन्दो रहेछ आफैँ पत्रकार
आफैँ न्यायाधीश ।
गणतन्त्र आउन मलाई
किन्नु पर्ने रहेछ डिजिटल क्यामेरा,
वा लिनु पर्ने रहेछ
कम्युनिष्ट, कांग्रेस अन्य पार्टीको सदस्यता।
एक साँझ,
झिसमिसेमा बाटो बिराएर आएको
कमरेडले ‘लालसलाम’ भन्दै भनेको थियो
‘अबस्था फेरिन व्यवस्था फेरिनुपर्छ,
व्यवस्था फेरिए अवस्था फेरिन्छ।’
तर न हाम्रो घरको अवस्था फेरियो,
न व्यवस्था नै
न खरको घरको छानो नै
फेरिए त केवल दुई थान ‘माननीय’
र एक थान ‘सरकार’ मात्र
जब
उज्यालोबाट देश अध्यारोमा धकेलियो,
बोल्नेहरूको बन्द गरियो मुख,
खोसियो कलम लेख्नेहरुको
चाकडी गर्नेहरूले मात्र
न्याय ,सुविधा र पाए जागिर ,
त्यसैबेला,
मृत्युको कफन ओढेर
जेन–जी पुस्ता निस्कियो सडकमा
चर्को नारा गुञ्जायमान भयो
एक भए देश र जनताको लागि समर्पित स्वरहरु
स्कुले पोषकमै रगतको खोला बग्यो,
सिहंदरबार, अदालत र प्रहरी चौकी
जलेर खरानी भए।
कुटाइ खाए
नेता, प्रहरी, कर्मचारी र सर्वसाधारणले एकसाथ ।
तर परिणाम अचम्मको !
जसरी बयलगाडामा चढेर
अमेरिका पुगेको थियो गणतन्त्र
त्यसरी नै यसपटक पनि
सोक, आँसु र खरानी उपहार दिएर
हेलिकप्टरमा चढी उडेर गयो आकासमा
जब ‘चस्मा’ लगाएर
हेरिन्छ केवल सन्निकाको हर्कत,
जब ‘कलम’ समात्दा
लेण्डुप डोर्जेको कथा मात्रै बन्छ,
जब ‘मुठ्ठी’ उठाउँदा
कस्ने ठाउँ खुकुलो हुन्छ,
जब ‘बाटो’ समात्दा
गन्तव्यमा पुगिँदैन
त्यो दिन,
फेरि फर्केर आउनेछ
उही बयलगाडामा सवार गणतन्त्र।




प्रतिक्रिया