सभापतिको अर्जूनदृष्टिले कांग्रेस जोगियो: युवा नेता मल्ल


काठमाडौं, मंसिर १६ । नेपाली कांग्रेसका युवा नेता आदर्श मल्लले पार्टीलाई सम्भावित फुटबाट जोगाउन र नियमित महाधिवेशन सुनिश्चित गर्न सभापति शेरबहादुर देउवाले खेलेको भूमिकाको उच्च प्रशंसा गरेका छन्।

कांग्रेसले आफ्नो १५ औं महाधिवेशनको मिति सर्वसम्मत रूपमा तय गरेसँगै सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता मल्लले सभापति देउवाको सकारात्मक र ऊर्जाशील सक्रियताका कारण नै पार्टी एकताबद्ध भएर महाधिवेशनको संघारमा पुगेको बताएका छन् ।

‘पार्टीलाई फुटबाट बचाउन र वडादेखि नै नयाँ तथा युवा अनुहारलाई पार्टीमा समावेश गर्न उहाँले नियमित महाधिवेशनको पक्षमा राख्नुभएको स्पष्ट अडान प्रशंसनीय छ। उहाँको नव-युवा पुस्ताप्रतिको विश्वास र स्नेहले पार्टीलाई नयाँ गति दिएको छ।’ उनले लेखेका छन् ।

नेता मल्लले महाधिवेशनको वातावरण निर्माण गर्न कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाह गरेको भूमिकाको पनि खुलेर प्रशंसा गरेका छन्। खड्काले प्राप्त जिम्मेवारी सफलतापूर्वक पूरा गरेर आफ्नो उच्च कार्यक्षमताको उदाहरण पेश गरेको उनको भनाइ छ।

विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिनसमेत उनले आह्वान गरेका छन । विशेष महाधिवेशनको प्रस्ताव रहेसम्म पार्टि फुट्न सक्ने सन्भावना जिवित रहन्छ, त्यसकारण नियमित महाधिवेशनको मिति तय भइसकेको अवस्थामा नेता मल्लले अब विशेष महाधिवेशनको माग गर्नुको औचित्य सकिएको बताएका छन्। उनले पार्टीभित्रका असन्तुष्ट पक्षलाई विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिन र नियमित महाधिवेशनलाई भव्य रूपमा सफल पार्न आह्वान गरेका छन्।

उनले भनेका छन्, ‘अब हामीले देश र कांग्रेसका अगाडि उभिएका चुनौतीहरूको समाधान गर्दै नयाँ अवसरतर्फ अघि बढ्नुपर्छ। समयको मागअनुसार युवा सहभागिता सुनिश्चित गर्न र आवश्यक नीतिगत तथा संरचनागत सुधारका लागि सबै मिलेर पार्टीको विधान संशोधन गरौँ।’

उनले आन्तरिक एकतालाई बलियो बनाउँदै महाधिवेशनसँगै आगामी संसदीय निर्वाचनको तयारीमा आजैदेखि एकताबद्ध भएर जुट्न पनि सम्पूर्ण कार्यकर्तालाई आग्रह गरेका छन्।