सरकारलाई प्रसाईंले किन भने खबरदार ?


काठमाडौं, १६ मंसिर । नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले हेटौंडामा सडक विस्तारको नाममा उचित मुआब्जा नदिई नागरिकका घरमा डोजर चलाउने वा दीर्घकालिन व्यवस्थापनको योजना पनि नबनाईए सुकुम्बासीको टहरा भत्काउने कार्य नगर्न सरकारलाई चेतावनी दिएका छन् । उनले सरकारलाई खबरदार भन्दै फेशबुकमार्फत यस्तो चेतावनी दिएका हुन् ।

उनले लेखेका छन्–

राज्य भक्षक होइन, रक्षक बनोस्। धेरै टाढा उदाहरण खोज्नै पर्दैन,छिमेकी भारतमै कुनै गाउँमा रेलवे ट्र्याक वा सडक सञ्जाल विस्तार गर्नुपर्ने भए, त्यहाँका नागरिकहरू सबैभन्दा धेरै खुसी हुन्छन्। किनकि त्यहाँ सरकारले व्यक्तिका जग्गा–जमिनमा काम गर्नुपरेमा सरकारी दरभन्दा तीन गुणा बढी मुआब्जा पहिला नै दिएर मात्रै परियोजना अघि बढाउँछ। तर हामीकहाँ भने यसको ठिक उल्टो अवस्था देखिन्छ। खबरदार सरकार ! मकवानपुर–हेटौडा बजार क्षेत्रमा सडक विस्तारको नाममा उचित मुआब्जा नदिई नागरिकका घरमा डोजर चलाउने, वा दीर्घकालीन व्यवस्थापनको योजना पनि नबनाई सुकुम्बासीका टहरा भत्काउने जस्ता काम नगर्नू। मानिसलाई भूमिहीन बनाउने, सुकुम्बासी बनाउने काम तत्काल बन्द गरियोस् ! राज्य भक्षक होइन, रक्षक बनोस्। हामी सरकारसँग निरन्तर वार्ता र संवादमा छौं। बार्ता नटुटोस्, छलफल नै समाधान हो। सडक बिस्तारको लागि बैकल्पिक मार्ग पनि पर्योग गर्न सकिन्छ। राज्यको काम जनतालाई विस्थापित गर्नु होइन, सुरक्षित राख्नु हो।