काठमाडौं, १८ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिले सभापति शेरबहादुर देउवाले पार्टीको १५औं महाधिवेशनको बारेमा सहमतिमै निर्णय होस र कुनै विवाद नहोस भनेर आग्रह गरेपछि आफूहरुले अहिलेको महाधिवेशनको कार्यतालिकालाई मानिदिएको बताएका छन् ।
आफूहरु २१ फागुनको चुनावअघि पार्टीको कुनैपनि नियमित वा विशेष महाधिवेशनको पक्षमा नरहेको पनि उनको भनाई छ । तर, सभापति देउवाले आफू पदीय जिम्मेवारीबाट अलग हुने बेलामा पार्टीभित्र कुनै विवाद नहोस भनेर आग्रह भएपछि अहिले पुष अन्तिममा गर्ने भनिएको महाधिवेशनको लागि मान्न तयार भएको निधिको दाबी छ ।
हिजो (बुधबार) राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले भने,‘महाधिवेशनको मिति पार्टीले सर्वसम्मतिले निर्णय गरेको छ । यसको तयारी पदाधिकारीले गर्ने हो, हामी सहयोग गर्छौं । पुष २६ गते कांग्रेसको महाधिवेशन हुन्छ । हुनुपर्छ ।’
उनले पार्टीको १५औं महाधिवेशनमा अहिलेको सभापति देउवाले आफूहरुलाई साथ दिने तर गगन थापालाई साथ नदिने दाबी गरे । उनले भने,‘उहाँले हामीलाई नै साथ दिनुहुन्छ, यसमा हामी ढुक्क छौं । हामी सल्लाह गरेर सभापति तय गर्छौं ।’




प्रतिक्रिया