यो सरकार बनाउन हामीले पनि भूमिका खेलेका छौं, चुनाव हुनैपर्छ : प्रकाश ज्वाला (भिडिओ सहित)


काठमाडौं, २० मंसिर । नेपाली कम्युनिष्ट पार्टीका प्रभावशाली नेता प्रकाश ज्वालाले तोकिएकै मितिमा निर्वाचन हुनुपर्नेमा सबै दल रहेको बताएका छन् । नयाँ म्याण्डेटसहित नयाँ सरकार बनाउने कुरा अहिलेको आवश्यकता भएको उनको भनाई छ । संविधान संशोधनलगायत जेनजी आन्दोलनका अग्रगामी मुद्दालाई नयाँ संसद्ले सम्बोधन गर्ने उनको दाबी छ ।

आज (शनिबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले अहिलेको सरकार नै चुनावी सरकार भएकाले यसले आफ्नो मुख्य कार्यभार समयमै चुनाव गराउनुपर्ने बताए । उनले सुशीला कार्कीको नेतृत्वमा सरकार बनाउनको लागि आफूहरुले पनि भूमिका खेलेको स्मरण गराए ।

लोकतान्त्रिक दलहरुले चुनाव जित्ने वा हार्ने भन्दापनि यो प्रक्रियामा सामेल हुने उनको भनाई छ । उनले चुनावले मात्रै अहिले राष्ट्रिय संकट हल गर्नसक्न्े जिकिर गरे । उनले भने,‘अहिले चुनाव हुनुहुँदैन, चुनावमा जाँदैन भनेर कसैले भन्छ भने त्यो जिम्मेवारपूर्ण कुरा हुँदैन । चुनावमा भाग लिनैपर्छ । चुनाव हुनैपर्छ ।’