काठमाडौं, २४ मंसिर । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको संकट अझै पनि टरिनसकेको बताएका छन् । प्रचण्डले जेन–जी आन्दोलनको नाममा ठूला–ठूला देशहरुले भू–राजनीतिक चलखेल गरेको बताएका हुन् । जेनजी महोत्सवलाई सम्बोधन गर्दै उनले नेपालीहरु मिसाइल तेर्स्याएर विदेशी हस्तक्षेपलाई रोक्न सक्ने स्थितिमा नरहेको बताए । तर, तीन करोड नेपाली एक ढिक्का भएर लडाईँको मैदानमा अगाडि बढ्न सक्ने तागत भने नेपालीहरुसँग रहेको उनले बताए ।
राष्ट्रको स्वाधीनता र स्वतन्त्रतालाई जनताको एकताले मात्रै बचाउन सक्ने उनले बताए । राष्ट्रको आत्मसम्मान, अधिकार र पहिचानको रक्षाका लागि आफूहरुले नेपाली कम्युनिष्ट पार्टी बनाएको उनले बताए ।
साथै, प्रचण्डले जेन–जी महोत्सवको उद्घाटन सत्र सोचेजस्तो नभएको भन्दै असन्तुष्टि जनाए । उनले हल खाली भएको देख्दा आफूलाई नमिठो–नमिठो लागेको बताए । उनले भने, ‘उद्घाटन समारोह जस्तो हुनुपर्थ्यो, त्यस्तो नभएको देख्दा मलाई नमिठो नमिठो लागेको छ । आउने दिनमा यस्तो नगर्नु होला । यो हल खचाखच पार्न तपाईँहरुलाई केही गाह्रो थिएन । तपाईँहरुले वाईसीएल, महिला, मजदुरलाई भन्न सक्नुहुन्थ्यो । त्यहाँ पनि जेन–जी छन् । आउने दिनमा राम्रो तयारी गर्न म विशेष निर्देशन पनि दिन चाहन्छु,’– उनले भने ।




प्रतिक्रिया