काठमाडौं, २६ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनको क्रममा भदौ २४ गते आफू भागेको नभई थप क्याजल्टी हुन नदिन बालुवाटार छाडेर हिँडेको स्पष्ट पारेका छन् । आफू देश छाडेर कतै नगएको र नजाने बताउँदै उनले भने–‘उनीहरूको ज्यान बचाउनको लागि मैले मुकाम परिवर्तन गरेँ ।’
उनले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई आफूलाई अर्ती दिने काम बन्द गर्न चेतावनी दिएका छन् । सम्पादकहरुसँगको हिजोको अन्तरक्रियामा ओलीले पोखरेलले आफूलाई जाँचबुझ आयोगमा बयान दिन जान सुझाव दिएको प्रसंगमा यस्तो अर्ती नदिन चेतावनी दिएका हुन् ।
उनले बरिष्ठ उपाध्यक्ष पोखरेल लगायतका केही मानिसहरू सुशीला कार्कीसँग मिलेर आफ्नोविरुद्ध लागेको गम्भीर आरोप लगाए । उनले भने,‘उहाँलाई के भएको छ कुन्नि, उहाँ त्यसरी नलागेको भए हुन्थ्यो ।’
वर्तमान सरकारले बनाएको जाँचबुझ आयोगमा बयान दिन जाने नजाने आफ्नो कुरा भएको बताउँदै उनले यसमा अर्ति नदिन पनि आग्रह गरे । ओलीले सरकार गठन प्रक्रिया नै असंवैधानिक भएको हुँदा सरकारका कुनै पनि गतिविधि आफूलाई मान्य नहुने स्पष्ट पारे । समय सुशीला कार्कीमा र फागुन २१ मा पुगेर मात्र नरोकिने बताउँदै उनले यो कुरा ख्याल गर्न कार्कीलाई चेतावनी दिए । उनले भेन,‘ध्यान राखेर, होश सम्हालेर चल्न म उहाँहरूलाई आग्रह गर्दछु।’
उनले एमाले लोकतन्त्र जोगाउने कुरामा दृढ भएर उभिने बताए । ओलीले थपे,‘लोकतन्त्र मास्ने प्रयास भयो भने एमाले सहँदैन, नेपाली जनताले सहँदैनन् ।’




प्रतिक्रिया