टोकियो, २६ मङ्सिर । जापानको “स्की” रिसोर्टमा शुक्रबार भालु देखा परेको रिपोर्ट प्राप्त गरेको बताइएको छ ।
गत अप्रिल देखि देशभर भालुको आक्रमणद्वारा १३ जनाको मृत्यु भएको रेकर्ड गरिएको छ भने भालुहरू घर भित्र प्रवेश गर्ने, विद्यालयहरू नजिकै घुम्ने र सुपरमार्केटहरूमा तोडफोड गर्ने घटनाहरू नियमित रूपमा रिपोर्ट गरिएको छ ।
नागानो क्षेत्रको हकुबा ४७ माउन्टेन स्पोट्र्स पार्ककी काजुया शिराकावालाई उदृत गर्दै एएफपीले “आइतवार दुईवटा स्थानमा भालु देखिएको रिपोर्ट प्राप्त गरे देखि हरेक दिन भालुहरूको खुट्टाको छाप छ कि छैन भनेर जाँच गर्न गस्ती गरिरहेको जनाएको छ ।
भालुहरू सामान्यतया जाडोमा सुरक्षित स्थानमा लुक्ने गरेकोमा यस महिनाको सुरुमा भने यस क्षेत्रमा एक व्यक्तिलाई आफ्नै घर नजिकै हिउँ सफा गर्दा आक्रमण गरेको जनाइएको छ ।
जापान सरकारले आक्रमणमा भएको वृद्धिलाई सामना गर्न थप सतर्कता अपनाइरहेको छ, भने वैज्ञानिकहरूले घट्दो मानव जनसङ्ख्या र द्रुत गतिमा बढिरहेको भालुहरूको सङ्ख्याले आक्रमण बढी रहेको बताएका छन् । रासस




प्रतिक्रिया