बाँसको कलमले अक्षर लेख्न सिकेकाहरुले स्मार्टफोनसँगै जन्मिएकाहरुमाथि शासन गरेर हुँदैन : प्रधानमन्त्री कार्की


काठमाडौं, ६ पुष । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री कार्कीले इलाम क्षेत्र नं २ का निवर्तमान सांसद सुहाङ नेम्बाङ नेतृत्वको एक प्रतिनिधिमण्डलसँग सिंहदरबारमा भएको भेटमा यो सरकार चुनाव गराउनैका लागि आएकाले अब कुनै दुविधा नराखी चुनावको तयारी गर्न पनि आग्रह गरिन् ।

उनले भनिन्,‘हामी चुनाव गराउनै लागिरहेका छौँ। असामान्य अवस्थामा शान्ति स्थापना र चुनाव गराउनकै लागि आएका हौँ। शान्ति स्थापना र कानुनको शासन बहालीमा सफलता मिलेको छ। अबको हाम्रो लक्ष्य चुनाव गराउने हो। चुनाव भए मात्र मुलुकमा अब दिगो शान्ति र स्थायित्व सुनिश्चित हुन्छ।’ नेम्बाङले प्रधानमन्त्री कार्कीलाई चुनाव गराउन सफलता मिलोस् भनेर शुभकामना पनि दिएको प्रधानमन्त्रीको सचिवालयले नजाएको छ । ‘हाम्रो शुभेच्छा छ, शुभकामना छ,’ उनले भने,‘चुनाव गराउन सफल हुनुहोस्।’ प्रधानमन्त्री कार्कीले नेम्बाङसँग चुनावमा उठ्ने तयारी के छ भनेर पनि जिज्ञासा राखेकी थिईन् ।

प्रतिक्रियामा नेम्बाङले चुनावको तयारी गरिरहेको बताएका थिए । प्रधानमन्त्री कार्कीले नेम्बाङलाई शुभकामना दिँदै अब युवा नै अघि सर्नुपर्ने धारणा राखेकी थिईन् । उनले भनिन्,‘चुनाव हुन्छ। तयारी अवस्थामा रहनू। तपाईँहरुजस्तो युवा आउनुपर्छ र देशको बागडोर सम्हाल्नुपर्छ। अनि मात्र देशमा केही न केही हुन्छ। बाँसको कलमले अक्षर लेख्न सिकेकाहरुले स्मार्टफोनसँगै जन्मिएकाहरुमाथि शासन गरेर हुँदैन। पुरानाको अनुभव र सल्लाह काम लाग्ला तर चालक सिटमा युवा नै आउनुपर्छ। देश युवाले नै हाँक्नुपर्छ। युवामा साहस हुन्छ, ऊर्जा हुन्छ। उसले साहसिक पाइला पनि चाल्न सक्छ।’

नेम्बाङले इलाममा बाढी÷पहिरोका कारण क्षतिग्रस्ता राजमार्ग र पुल पुनःनिर्माणमा तदारुकता देखाउनुपर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण पनि गराए । प्रधानमन्त्री कार्कीले हालै भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले स्थलगत अवलोकन निरीक्षण गरी फर्किएको र यस विषयमा सरकार गम्भीर रहेको जानकारी दिईन् ।