प्रधानमन्त्री कार्कीले दलका नेताहरुसँग छलफल गर्दै, एमालेबाट शंकर पोखरेल सहभागी हुने


काठमाडौं, ७ पुष । प्रधानमन्त्री सुशीला कार्कीले आज विभिन्न सात राजनीतिक दलका प्रतिनिधि र नागरिक समाजका अगुवाहरुसँग सामूहिक छलफल गर्ने भएकी छिन् । हिजोमात्रै उनले रास्वपाका सभापति रवि लामिछानेसहितका नेताहरुसँग छलफल गरेका थिए । रास्वपाका सभापति लामिछानेले २१ फागुनमा नै निर्वाचन गराउनको लागि सरकारलाई आफ्नो दलको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता जनाएका थिए । उनी हालै सहकारी ठगी मुद्दामा बिगोबराबरको बैंक ग्यारेन्टी बुझाएर रिहा भएका हुन् ।

प्रधानमन्त्री कार्कीेले कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, रास्वपालगायतका विभिन्न ७ दलका नेताहरुसँग आज दिउँसो १ बजे सिंहदरबारमा छलफल गर्ने बताईएको छ । दलको तर्फबाट को को जाने भनेर पनि नाम तय भइसकेको छ। कांग्रेसबाट सहमहामन्त्री महेन्द्र यादव सहभागी हुनेछन् । यस्तै, एमालेबाट नवनिर्वाचित महासचिव शंकर पोखरेल, नेपाली कम्युनिष्ट पार्टीबाट वर्षमान पुन, रास्वपाबाट सोबिता गौतम सहभागी हुने बताईएको छ । आजको छलफलमा निर्वाचनको तयारीबारे सरकारको तर्फबाट ब्रिफिङ हुनेछ । प्रधानमन्त्री कार्की नेतृत्वको वर्तमान सरकारले एक सय दिन व्यतित गरिसकेको छ ।