राजसंस्था फर्कनसक्ने भनेर विद्या भण्डारीले दिएको अभिव्यक्तिप्रति ज्ञवालीको टिप्पणी : उहाँको यो अभिव्यक्ति सुन्दा उदेक लाग्यो


काठमाडौं, ७ पुष । नेकपा (एमाले) का केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हालै राजसंस्था पुनःस्थापना हुनसक्ने भनेर दिएको अभिव्यक्तिलाई लिएर टिप्पणी गरेका छन् । उनले भनेका छन्,‘पूर्व राष्ट्रपतिज्यूले राजतन्त्र पुनस्र्थापना हुन सक्छ भनेर दिएको अभिव्यक्ति सुन्दा उदेक लाग्यो । आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?’

उनले पार्टीको सर्वोच्च निकाय महाधिवेशन भएकोले त्यसको फैसला आएपछि पनि मुद्दा कायमै रहने हो भने पार्टी अन्त्यहीन बहस क्लबकमा रुपान्तरित हुने टिप्पणी गरेका छन् । अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित भएका ईश्वर पोखरेलले आफ्नो समूहको छुट्टै भेलाको आयोजना गरेपछि ज्ञवालीले यस्तो टिप्पणी गरेका हुन् ।

उनले फेशबुकमा लेखेका छन्–

हिँजो अस्तिका दुई दृश्यले आँखा बिझायो । महाधिवेशन सकिए लगत्तै केही कमरेडहरूले गर्नुभएको छुट्टै भेला अपेक्षित थिएन । महाधिवेशन पार्टीको सर्वोच्च निकाय हो । त्यसको फैसला पनि अन्तिम नमानिने हो र त्यसपछि पनि ‘मुद्दा कायमै ‘ रहने हो पार्टी अन्त्यहीन बहस क्लबमा रूपान्तरित हुन्छ । यसो हुनुहुँदैन । एक वर्ष अगावै महाधिवेशन आयोजना गर्नुको एउटै तर्कसङ्गत आधार र कारण थियो– केही कमरेडहरूले नेतृत्वको वैधता, सान्दर्भिकता र स्वीकार्यतामाथि उठाएको प्रश्न । महाधिवेशनले ती प्रश्नको स्पष्ट र द्विविधारहित जवाफ दिएर नेतृत्वलाई पुनः अनुमोदित गरेको छ । अब पनि महाधिवेशन पूर्वकै ब्यागेज बोकेर ‘दुई लाइनको सङ्घर्ष’, ’प्रतिवाद’, र ‘खोक्रो एकता’ जस्तो बाटोमा हिँड्दा कहीँ पुगिदैन ।तीन महिनाको छोटो अवधिमै पार्टीलाई तङ्ग्र्याएर एउटा बिन्दुमा ल्याइपुर् याएका छौं । तर जित्नु पर्ने लोकतन्त्र बहालीको लडाइँ, सफल हुनै पर्ने संविधान रक्षाको लडाइँ र पार गर्नु पर्ने स्थिरता, सुशासन, समृद्धि र राष्ट्रिय स्वाभिमानको यात्रा बाँकी नै छ । अब हाम्रो समग्र उर्जा यसमै केन्द्रित हुनुपर्ने होइन र ? पूर्व राष्ट्रपतिज्यूले राजतन्त्र पुनस्र्थापना हुन सक्छ भनेर दिएको अभिव्यक्ति सुन्दा उदेक लाग्यो । आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?

Skip This

Omoda E5 Pro