थाइल्यान्ड–कम्बोडिया सीमा तनावमा आसियान बैठक


बैङ्कक, ७ पुस । दुई हप्ताअघि घातक झडपमा परिणत भएको थाइल्यान्ड र कम्बोडियाबीचको सीमा विवादबारे छलफल गर्न दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको क्षेत्रीय सङ्गठन (आसियान) का विदेशमन्त्रीहरू सोमबार मलेसियाको राजधानी क्वालालम्पुरमा भेला भएका छन् । यस विशेष बैठकमार्फत दुवै देशबीचको तनाव कम गर्न कूटनीतिक पहल अघि बढाउने उद्देश्य राखिएको छ ।

यस वर्ष दोस्रोपटक आसियानले आफ्ना दुई सदस्य राष्ट्रबीच डि–एस्केलेसन प्रवद्र्धन गर्न मञ्च उपलब्ध गराएको हो । पछिल्लो हिंसाले जुलाईमा पाँच दिनसम्म चलेको लडाइँ अन्त्य गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा भएको युद्धविरामलाई कमजोर बनाएको थियो । उक्त युद्धविराम मलेसियाको मध्यस्थतामा सम्भव भएको थियो, जहाँ ट्रम्पले सम्झौतामा नपुगेसम्म व्यापार सुविधा रोक्ने चेतावनी दिएका थिए । अक्टोबरमा मलेसियामै भएको क्षेत्रीय शिखर सम्मेलनमा थप विवरणसहित युद्धविरामलाई औपचारिक रूप दिइएको थियो ।

सीमामा पुनः चर्किएको हिंसाले अन्तर्राष्ट्रिय समुदायको गम्भीर ध्यान तानेको छ । अमेरिकी विदेश मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै थाइल्यान्ड र कम्बोडियालाई शत्रुता अन्त्य गर्न, भारी हतियार फिर्ता लिन, नयाँ ल्यान्डमाइन राख्न रोक्न र क्वालालम्पुर शान्ति सम्झौताहरू पूर्ण रूपमा कार्यान्वयन गर्न आह्वान गरेको छ । ती सम्झौतामा मानवीय राहत तीव्र बनाउने र सीमा विवाद समाधानका संयन्त्रहरू समावेश छन् ।

थाई विदेशमन्त्री सिहासाक फुआंगकेटकोले आइतबार सामाजिक सञ्जालमार्फत अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँगको संवाद उल्लेख गर्दै थाइल्यान्डको युद्धविरामप्रति दृढ प्रतिबद्धता र अगाडि बढ्ने स्पष्ट मार्ग प्रस्तुत गरिएको बताए । उनले क्वालालम्पुरको बैठकमा थाइल्यान्ड रचनात्मक रूपमा संलग्न हुने जानकारी दिए ।

कम्बोडियाका विदेशमन्त्री प्राक सोखोन्न पनि बैठकमा सहभागी हुने योजना रहेको कम्बोडियाको विदेश मन्त्रालयले जनाएको छ । मन्त्रालयले सबै मतभेद र विवाद शान्तिपूर्ण माध्यम, संवाद र कूटनीतिबाट समाधान गर्ने आफ्नो अडान पुनः पुष्टि गरेको छ ।

दुवै देशले साझा सीमाको एक विवादित भूभागमा दाबी गर्दै आएका कारण यो द्वन्द्व उत्पन्न भएको हो । डिसेम्बर ८ मा सीमामा भएको झडपमा दुई थाई सैनिक घाइते भएपछि पछिल्लो चरणको लडाइँ सुरु भएको थियो । त्यसयता विभिन्न मोर्चामा लडाइँ चर्किएको छ । थाइल्यान्डले एफ–१६ लडाकू जेट प्रयोग गरेको आरोप छ भने कम्बोडियाले ट्रक–माउन्टेड लन्चरबाट बीएम–२१ रकेट प्रक्षेपण गरेको बताइएको छ ।

अधिकारीहरूका अनुसार पछिल्लो सातामा सीमाको दुवै किनारमा दुई दर्जनभन्दा बढी मानिसको मृत्यु भएको आधिकारिक रिपोर्ट आएको छ र पाँच लाखभन्दा बढी सर्वसाधारण विस्थापित भएका छन् । अक्टोबरको युद्धविरामअनुसार थाइल्यान्डले पक्राउ परेका १८ कम्बोडियाली सैनिक रिहा गर्ने र दुवै पक्षले सीमाबाट भारी हतियार तथा ल्यान्डमाइन हटाउने सहमति गरेका थिए । तर त्यसयता साना झडप र तीव्र प्रचार युद्ध जारी छन् ।

ल्यान्डमाइन विषय थाइल्यान्डका लागि विशेष रूपमा संवेदनशील बनेको छ । थाइल्यान्डले कम्बोडियाले नयाँ माइन राखेको आरोप लगाउँदै विरोध जनाएको छ, जसका कारण सीमामा गस्ती गरिरहेका सैनिकहरू घाइते भएको दाबी गरिएको छ । कम्बोडियाले भने ती माइनहरू सन् १९९९ मा समाप्त भएको दशकौँ लामो गृहयुद्धका अवशेष भएको बताएको छ ।

थाई नौसेनाले आइतबार अग्रपङ्क्तिमा रहेका एक नौसैनिक ल्यान्डमाइनमा पाइला टेक्दा दाहिने खुट्टामा गम्भीर चोट लागेको जानकारी दिएको छ । साथै, नौसेनाले कम्बोडियाको गढ भनिएको क्षेत्रमा परित्याग गरिएका हतियार र विस्फोटक सामग्री फेला परेको दाबी गर्दै थाई सेनाविरुद्ध योजनाबद्ध रूपमा कर्मचारीविरोधी ल्यान्डमाइन प्रयोग भएको आरोप लगाएको छ ।

थाई विदेश मन्त्रालयले कम्बोडिया र एन्टि–पर्सनल माइन बान कन्भेन्सन (ओटावा कन्भेन्सन) का वर्तमान अध्यक्ष जाम्बियालाई सम्मेलनका संयन्त्रअन्तर्गत थप कारबाहीका लागि विरोध पत्र पठाउने जनाएको छ । यस विषयमा कम्बोडियाले तत्काल कुनै प्रतिक्रिया दिएको छैन । रासस