‘गगनजी केपी ओलीका खुट्टा ढोग्न जानुभयाे, देउवालाई ढोग्न आएको भए आशीर्वाद पाउँथ्यो’ : मोहन बस्नेत


काठमाडौँ । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन थापामाथि कटाक्ष गर्दै उनी केपी शर्मा ओलीको खुट्टा ढोग्न गएको आरोप लगाएका छन्।

आज काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै बस्नेतले थापा शेरबहादुर देउवालाई भेट्न आएको भए आशीर्वाद पाउने टिप्पणी गरे। उनले भने, ‘गगनजी केपी ओलीजीका खुट्टा ढोग्न गएको मान्छे, शेरबहादुर देउवाजीलाई ढोग्न आएको भए त आशीर्वाद पाउँथ्यो नि! गएन । अब अहिले प्रचण्डले उहाँलाई बचाउने? हेर्नुस् यहाँ जात्रा ।’

बस्नेतले देउवा नेतृत्वको कांग्रेसलाई कसैले कमजोर ठान्ने वा हेप्ने प्रयास गरे प्रतिकारमा उत्रिन पनि निर्देशन दिएका छन्। उनले एक वर्षभित्र कांग्रेसले आफ्नो शक्ति देखाउने दाबी गर्दै नेता तथा कार्यकर्तालाई धैर्य, साहस र बुद्धि प्रयोग गर्न आग्रह गरे।

‘हाम्रा नेताहरू यत्रो लामो समय जेल बसे, देशका लागि दुःख गरे। हामी अलिकति थाम्न सक्दैनौँ? धैर्य गर्न सक्दैनौँ? भिड्न सक्दैनौँ?’ उनले भने, ‘जोसँग तागत छ, त्यो तागत हुने मान्छे भिडेन भने त्यो तागत के काम? जोसँग बुद्धि छ, उसले बुद्धि प्रयोग गर्दैन भने के काम? जोसँग साहस छ, ऊ लाग्नुपर्‍यो।’

उनले गगन थापामाथि नेपाली कांग्रेसलाई कमजोर बनाएको आरोपसमेत लगाए। देउवा र पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवामाथि आक्रमण हुँदा पनि फोन बन्द गरेर बस्ने नेविसंघ र तरुण दलका नेतृत्व आफूहरूलाई आवश्यक नरहेको उनको भनाइ थियो।

बस्नेतले गगन थापाले १८ करोड रुपैयाँ खर्च गरेर नेपाली कांग्रेसको चुनाव चिह्न रुख कब्जा गरेको जिकिरसमेत गरे।