काठमाडौं, ७ पुष । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री सञ्जय गौतमले प्रतिनिधिसभा पुनःस्थापनाको लागि भएको हस्ताक्षर प्रक्रियामा आफू सहभागी नभएको स्पष्ट पारेका छन् । उनले अहिलेको समस्याको समाधान संसद् पुनःस्थापना हो जस्तो नलागेको प्रतिक्रिया दिए । आज (सोमबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
प्रतिनिधिसभा पुनःस्थापनाको लागि पार्टीले संस्थागत निर्णय नगरेको उनको भनाई छ । उनले आजको समस्या राजनीतिक भएकोले यसको समाधान राजनीतिक निर्णयबाट हुने विश्वास दिलाए । उनले राजनीतिक समस्याको समाधानको लागि कानूनी उपचार खोज्ने कुरामा आफू सहमत नभएको स्पष्ट पारे । उनले जेन-जी विद्रोहलाई असंगठित विद्रोहको संज्ञा दिए ।
उनले जेन-जी विद्रोहपछि आफूहरुले वैधानिकता गुमाएकोले अब चुनावबाट नै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । उनले अब दलहरु ताजा जनादेश लिएर आउनुपर्ने सुझाव दिए । उनले निर्वाचनको लागि सरकारले वातावरण बनाउनुपर्ने बताए । उनले सरकारले नै शान्ति, सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने भन्दै यसमा आफूहरुले सरकारलाई पूर्ण रुपमा सहयोग गरेको बताए ।
उनले २१ फागुनमा हुने निर्वाचनपछि पनि कांग्रेस नै सबैभन्दा ठूलो दल बन्ने दाबी गरे । उनले नेपाली जनताले कांग्रेसलाई नै माया गरेको भन्दै आफूहरुले पार्टीलाई सुधार गरेर जानुपर्ने बताए । उनले पार्टीभित्रको आन्तरिक विवाद थाती राख्नुपर्ने मत राखे ।




प्रतिक्रिया