अबुजा, ७ पुस । गत महिना नाइजेरियाको एक क्याथोलिक विद्यालयबाट अपहरण गरिएका १३० जना विद्यार्थी र विद्यालयका कर्मचारीहरूलाई रिहा गरिएको नाइजर राज्य प्रहरीले आइतबार जानकारी दिएको छ । रिहा हुनेमा विद्यालयका बालबालिकासहित कर्मचारीहरू पनि रहेका छन् ।
नोभेम्बर २१ मा बन्दुकधारीहरूले नाइजेरियाको उत्तर–मध्य नाइजर राज्यस्थित पापिरी समुदायको सेन्ट मेरी क्याथोलिक स्कूलमा आक्रमण गरी कम्तीमा ३०३ जना विद्यार्थी र १२ जना शिक्षकलाई अपहरण गरेका थिए । घटनापछि केही घन्टामै ५० जना विद्यार्थी भाग्न सफल भएका थिए भने यस महिनाको सुरुआतमा थप १०० जना विद्यार्थी रिहा भएका थिए ।
नाइजर राज्य प्रहरीका प्रवक्ता वासिउ अबियोडुनले विज्ञप्ति जारी गर्दै अपहरण गरिएका बाँकी समूह पनि सुरक्षित रूपमा मुक्त भएको बताए । उनका अनुसार कर्मचारीसहित कुल १३० जना पीडितलाई रिहा गरिएको छ । विद्यालयका केही विद्यार्थी र शिक्षक अझै बेपत्ता छन् कि छैनन् भन्ने विषयमा सोधिएको प्रश्नमा उहाँले थप विवरण पछि सार्वजनिक गरिने जानकारी दिए ।
राष्ट्रपति बोला टिनुबुका प्रवक्ता बायो ओनानुगाले सामाजिक सञ्जाल एक्समार्फत अपहरण गरिएका बाँकी १३० जना विद्यार्थी रिहा भएको पुष्टि गरे । उनका अनुसार मुक्त गरिएका विद्यार्थीहरू सोमबार नाइजर राज्यको राजधानी मिन्ना पुग्नेछन् र क्रिसमसका अवसरमा आफ्ना परिवारसँग पुनर्मिलन गर्नेछन् । उनले यो सफलता सैन्य गुप्तचरद्वारा सञ्चालन गरिएको विशेष अभियानपछि सम्भव भएको पनि बताए ।
राष्ट्रपतिका अर्का प्रवक्ता सन्डे डेयरले पनि सबै १३० जना विद्यार्थी सुरक्षित रूपमा मुक्त भएको र कोही पनि कैदमा नरहेको स्पष्ट पारे ।
नोभेम्बर २१ को उक्त अपहरणको जिम्मेवारी कुनै समूहले लिएको छैन । तर स्थानीय बासिन्दाहरूले नाइजेरियाको उत्तर क्षेत्रमा सक्रिय सशस्त्र गिरोहहरूले फिरौतीका लागि विद्यालय र यात्रुहरूलाई लक्षित गर्दै आएको आरोप लगाउँदै आएका छन् ।
नाइजर राज्यको यो घटना हालैका सामूहिक अपहरणहरूमध्ये एक हो । यसअघि छिमेकी केब्बी राज्यमा २५ जना विद्यालय विद्यार्थी अपहरणमा परेका थिए भने दक्षिणी क्वारा राज्यको एउटा चर्चबाट अपहरण गरिएका ३८ जना उपासकहरू पनि गत महिना रिहा भएका थिए ।
राष्ट्रपति टिनुबुमाथि देशभित्र र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तर्फबाट पनि सुरक्षा सङ्कटलाई लिएर दबाब बढिरहेको छ । ट्रम्पले नाइजेरियामा इसाई समुदाय लक्षित हुने गरेको आरोप लगाउँदै आएका थिए ।
नाइजेरियाका अधिकारीहरूले यस्ता उद्धार अभियानबारे प्रायः कम विवरण सार्वजनिक गर्ने गर्छन् र अपहरणसम्बन्धी घटनामा गिरफ्तारीहरू दुर्लभ छन् । विश्लेषकहरूका अनुसार धेरैजसो अवस्थामा फिरौती तिरेर अपहरण अन्त्य गरिन्छ, यद्यपि सरकारी निकायहरूले फिरौती भुक्तानी भएको स्वीकार गर्ने गरेका छैनन् । रासस




प्रतिक्रिया