काठमाडौं, ७ पुष । रास्वपाका सभापति रवि लामिछानेले आफूले अहिले केपी शर्मा ओलीले लगाएको गुण तिरिरहेको भन्दै ‘जिल्ला अदालतमा तारेख बुझेको’ कुरालाई उद्धृत गरेका छन् । हिजो हिमालय टिभीबाट प्रसारण भएको यक्ष प्रश्नमा एमाले अध्यक्ष ओलीले आफूले लामिछानेलाई गुन लगाएको बताएका थिए । ओलीले रविले आफूसँग अनावश्यक दुश्मनी मोलेको पनि टिप्पणी गरेका थिए ।
ओलीको अभिव्यक्ति आएको भोलिपल्टै आज लामिछानेले त्यसको जवाफ दिए । तर, सहकारी ठगी मुद्दामा जिल्ला अदालतमा तारेख धाएको बेलामा । उनले अहिले आफूले ओलीले लगाइदिएको गुन तिर्न आएको भन्दै व्यंग्य कसे । उनको भनाई थियो,‘केपी ओलीजीले गुन लगाइदिनुभएको छ, त्यही तिर्न आएको हुँ । जिउभरि किला ठोकेजस्तो भएको छ । ७ दिनभित्र बाँकी सबै अदालतमा गएर हाजिर गर्नुपर्ने हुन्छ । तारिख मिलाउनुपर्ने हुन्छ । अर्काले तारिख लिइसक्या होला । दौडादौड चलिराख्या छ । बिष शरीरभरि बाँकी नै छ, त्यसका लागि तयारी गर्दैछु ।’




प्रतिक्रिया