बालेन शाहको सक्रियताबारे रमेश खरेलले के भने ?


काठमाडौं, ९ पुष । पूर्व डिआईजी रमेश खरेलले काठमाडौं महानगरका प्रमुख बालेन शाहको सक्रियताले नेपालको राजनीतिक वृत्तमा सकारात्मक तरंग पैदा गरेको बताएका छन् । उनले वर्तमान राष्ट्रिय परिस्थ्तििलाई बालेनको नेतृत्वमा पार्टीमार्फत संगठित रुपमा राजनीति अगाडि बढाउने बहस केवल जायजमात्रै नभएर समयको आवश्यकतासँग मेल खाने विषय पनि भएको उल्लेख गरेका छन् ।

खरेलले फेशबुकमा लेखेका छन्–

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहका हालका राजनीतिक भेटघाट र गतिविधिहरूले देशको राजनीतिक वृत्तमा सकारात्मक तरङ्ग पैदा गरेका छन्। वर्तमान राष्ट्रिय परिस्थितिलाई हेर्दा, उनको नेतृत्वमा पार्टीमार्फत संगठित रूपमा राजनीति अगाडि बढाउने बहस केवल जायज मात्र होइन, समयको आवश्यकतासँग मेल खाने विषय पनि हो।

उनले स्थानीय तहमा देखाएको कार्यशैली, स्पष्ट दृष्टिकोण र निर्भीक निर्णय क्षमताले जनतामा स्थापित राजनीतिक धारहरूप्रति वैकल्पिक सोचको आशा जगाएको छ। यही कारण, उनको बढ्दो सक्रियतालाई देशमा नयाँ र वैकल्पिक राजनीतिक शक्तिको उदयको संकेतका रूपमा बुझिनु स्वभाविक देखिन्छ। विशेषतः परिवर्तनको खोजीमा रहेका नागरिकहरूका लागि बालेनको पहलले जिम्मेवार, परिणाममुखी र जनउत्तरदायी राजनीतिप्रति विश्वास पुनः जागृत गराउने सम्भावना बोकेको छ।