महोत्तरी, ९ पुस । नगरपालिका कार्यालयबाट लिनुपर्ने सेवा घरआँगनबाट पाएपछि मटिहानी नगरबासीलाई सहज भएको छ । वृद्धवृद्धा, महिला र आमसर्वसाधारणलाई लक्षित गरी नगर कार्यपालिकाको कार्यालयले मङ्गलबारदेखि एकीकृत घुम्ती सेवा दिन थालेको हो ।
चिसो बढेसँगै घरबाट निस्कन समस्या हुन थालेपछि नगर कार्यपालिकाले बस्तीबस्तीमा पुगेर एकीकृत सेवा दिन थालेपछि स्थानीयले राहत पाएका हुन् । नगरका नौ वटै वडाका बस्तीमा दिइने यो सेवामा नगर कार्यपालिका र वडा कार्यालयबाट सम्पादन हुँदै आएका जनसरोकारका सेवा एकै ठाउँबाट दिन थालिएको बताइएको छ ।
जन्मदर्तासहित व्यक्तिगत घटना दर्ता, विभिन्न किसिमका सिफारिसका साथै अतिरिक्त योजनासम्बन्धी अभिमुखीकरण, योजनासम्बन्धी छलफल र सम्झौता, व्यवसाय दर्ता तथा नविकरण, जेष्ठ नागरिक परिचयपत्र वितरण, नाता प्रमाणित, अपाङ्गता परिचयपत्रका लागि दरखास्त सङ्कलन, निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरणलगायत कार्यक्रम सञ्चालन भइरहेका नगर कार्यालयका प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्माले जानकारी दिए ।
उनका अनुसार कृषिसम्बद्ध माटो परीक्षण (कृषि कार्यका लागि), कृषि मिटर (विद्युत् मिटर) सिफारिस र तरकारीका मिनी किट (बीउ) वितरण घुम्ती सेवामा दिइँदै छ । घुम्ती सेवामा पशुवस्तुको गोबर र गर्भ परीक्षण, पशुपक्षीसम्बन्धी विभिन्न स्वास्थ्य समस्याबारे परामर्श तथा औषधि वितरणका कार्यक्रम सञ्चालित छन् । राजस्व असुली, गरिबका लागि परिचयपत्र वितरणलगायत सेवा सञ्चालनमा रहेका बताउँदै शर्माले यसले नगरबासीलाई सहज बनाएको धारणा राखे ।
“आफ्नै घरआँगनबाट वैशाखमा उत्पादन लिने तरकारीको बीउ पाइयो”, मटिहानी–१ का स्थानीय कवारीले भने, “पुस तेस्रो साताभित्र रोपेर चैत÷वैशाखमा उत्पादन लिने तरकारीको बीउ पाएपछि ढुक्क भएका छौँ । महोत्तरीसहित मधेसमा चैत÷वैशाखमा उत्पादन लिने तरकारीलाई वैशाखी भनिन्छ । यो बाली पुस तेस्रो सातासम्म रोपिने गरिएको कवारीले बताए ।
पुसको जाडोमा स्थानीयस्तरमा घरबाटै स्वास्थ्य सेवा सेवा लिन पाउँदा सहज भएको सुकमरियादेवी र लालबाबु मण्डलले बताए । “चिसो अत्यधिब बढेको छ । यस्तोमा स्वास्थ्यकर्मीले यहीँ जाँचेर औषधि दिनुभयो, टाढा जानुपर्ने बाध्यता अन्त्य हुनुका साथै समय र खर्च बचत भएको छ”, सुकमरियादेवीले भने ।
एकीकृत घुम्ती सेवाको पहिलो दिन मटिहानी–१ का सिरसिया र छोट्का धिरापुर बस्तीका ८३१ जना सेवाग्राही लाभान्वित भएका नगर कार्यालयका प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिए । सबैभन्दा बढी पशुस्वास्थ्य सेवा लिने ३८४ जना रहेका उनले बताए ।
मङ्गलबारदेखि सुरु भएको एकीकृत घुम्ती सेवाले सर्वसाधारणमा आफ्ना ठाउँका कामबारे सकारात्मक चासो बढेको छ । मटिहानी नगर पालिका कार्यालयबाट जनप्रतिनिधि र सम्बद्ध कर्मचारीसहितको टोली आफ्नै बस्तीमा आएर विभिन्न सेवा एकै ठाउँमा दिन थालेपछि सर्वसाधारण उत्साहित देखिएका छन् ।
नगर कार्यपालिकाको कार्यालयले सबै वडा बस्ती पुग्ने तालिकासहित एकीकृत घुम्ती सेवा थालेको नगरप्रमुख हरिप्रसाद मण्डलले बताए । “सर्वसाधारणमा वडा र नगरपालिकाबाट प्रदान गरिने सेवाबारे जानकारीको कमी छ । घुम्ती सेवामार्फत कार्यालयबाट प्रदान गरिने सेवाबारे पनि सर्वसाधारणमा जानकारी बढाउँदैछौँ”, उनले भने, “प्रारम्भिक स्वास्थ्य जाँच र उपचारबारे जानकारी बढाउन सकेमा स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच वृद्धि हुने थियो ।”
बस्तीमा नगर प्रमुख, उपप्रमुख, वडाध्यक्षसहित जनप्रतिनिधि, कार्यालयका कर्मचारी र विभिन्न शाखाका प्रमुखलाई एकै ठाउँमा भेटेपछि सर्वसाधारण खुलेर आफ्ना आवश्यकता राखेका प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए । जनसरोकारका काममा जनचासो र सहभागिता बढाउने उद्देश्यका साथ सुरु गरिएको एकीकृत घुम्ती सेवालाई आगामी दिनमा पनि निरन्तरता दिइने उनको भनाइ छ ।
यसैबीच, जलेश्वर, पिपरासहित मटिहानीसँग सीमा जोडिएका स्थानीय तहका सर्वसाधारणले पनि आफ्ना प्रतिनिधिसँग यस्तो कार्यक्रम संयोजन गर्न सुझाव दिएका छन् । रासस




प्रतिक्रिया