काठमाडौं, १० पुस । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इसाई धर्मावलम्बीहरुको मुख्य पर्व क्रिसमसको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छन् । दाहालले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरुप्रति सुस्वास्थ्य दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै सबै जातजाति, भाषा, धर्म र संस्कृतिबीचको आपसी सद्भाव, सहिष्णुता र एकताले नै राष्ट्रिय एकतालाई थप सुदृढ बनाएको जनाएका छन् ।
उनले यस पर्वले विश्वभर शान्ति, प्रेम र करुणाको सन्देश फैलाउँदै नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने प्रेरणा प्रदान गरोस् भन्नेसमेत कामना गरेका छन्।
उनले लेखेका छन्, ‘इसाई धर्मावलम्बीहरूको महान् चाड क्रिसमस–२०२५ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण क्रिश्चियन दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु। सामाजिक, सांस्कृतिक तथा धार्मिक विविधताले भरिपूर्ण हाम्रो देशमा सबै जातजाति, भाषा, धर्म र संस्कृतिबीचको आपसी सद्भाव, सहिष्णुता र एकताले नै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछ। यस पर्वले विश्वभर शान्ति, प्रेम र करुणाको सन्देश फैलाउँदै नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु।‘
क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज सो धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो ।
‘क्रिसमस डे’का अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । विसं २०७५ देखि २०७७ सम्म क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । विसं २०७८ देखि फेरि सबैलाई सार्वजनिक बिदा दिइएको छ।




प्रतिक्रिया