काठमाडौं, १० पुष । राप्रपाका प्रवक्ताको जिम्मेवारीमा रहेका र विघटित प्रतिनिधिसभामा पार्टीको तर्फबाट प्रमुख सचेतकको जिम्मेवारीमा रहेका ज्ञानबहादुर शाही पार्टी छोड्ने तयारीमा रहेको चर्चा छ । शाही नयाँ र वैकल्पिक शक्तिहरु मिलेर जानुपर्ने पक्षमा छन् । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले आगामी निर्वाचनमा भाग लिनेगरि सक्रियता बढाएपछि शाहीपनि शाहसँग निरन्तर सम्वादमा छन् । पछिल्लो २४ घण्टामा शाह र शाहीबीच दुई पटक लामो भेटवार्ता भएका छन् ।
बालेनले देश विकास पार्टीमार्फत सक्रिय राजनीति गर्ने भएका छन् । उनले नयाँहरुलाई जोड्नेगरि गृहकार्य थालेका छन् । अहिले उनी रास्वपाका सभापति रवि लामिछानेसँग निर्णायक छलफलमा छन् । त्यसअघि उर्जामन्त्री कुलमान घिसिङसँग छलफल गरेका शाहले आजै हामी नेपालीका संयोजका सुदन गुरुङसँगपनि छलफल गर्ने भएका छन् ।
बालेनको नेतृत्वमा अघि बढ्न केही पूराना दलका नेताहरुपनि तयार रहेको चर्चा चलिरहँदा शाहीले बालेनसँग निकटता बढाएका छन् । शाहीले मात्रै नभएर जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, नागरिक उन्मुक्ति पार्टी नेपालका संस्थापक रेशमलाल चौधरीलगायतले पनि बालेनसँग हिजो भेटवार्ता गरेका छन् ।
राप्रपाका प्रवक्ताको जिम्मेवारीमा रहेका शाही भने बालेनसँग निरन्तर सम्वादमा रहँदा उनले पार्टी त्याग्न लागेको चर्चा चल्न थालेको छ । शाही राप्रपाबाट आगामी निर्वाचनको लागि विभिन्न क्षेत्रबाट सिफारिश भएका छन् । तर, उनले २१ फागुनको निर्वाचनमा भने नयाँहरु मिल्नुपर्नै मुद्दा बोकेका छन् । राप्रपा आँफैमा पूरानो शक्ति हो । शाहीले राजसंस्थाको मुद्दा चर्कोसँग उठाउँदै आएका छन् । नयाँ र विकल्प दिन्छौं भन्नेहरुले अहिलेसम्म राजसंस्थाको पक्षमा आफ्नो धारणा राखेका छैनन् ।
हिजोमात्रै राजसंस्थाको वकालत गर्ने राप्रपा र राप्रपा नेपालबीच एकताको घोषणा भएको छ । दुवै दलका अध्यक्षद्धय राजेन्द्र लिङ्देन र कमल थापाबीच पार्टी एकताको विषयमा सहमति भएको हो । दुई दलबीच एकता घोषणासभा भने यही पुष १६ गतेको लागि तय भएको छ । file photo




प्रतिक्रिया