देशमा चुनावको सम्भावना नै छैन, सरकारको ध्यान त्यतातिर पनि छैनः केपी ओली


काठमाडौं, १० पुस । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा अ‍ोलीले अहिले देशमा शान्ति, सुव्यवस्था नरहेको बताएका छन् । आज (बिहीबार) आयोजित एमालेका स्वयंसेवकहरुको कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा शान्ति र सुव्यवस्था कायम हुन आवश्यक रहेको बताएका हुन् ।

उनले अहिले देशमा चुनावको सम्भावना नै नरहेको बताए । सरकारले चुनावको वातावरण बनाउनेतर्फ ध्यानै नदिएको उनले बताए । उनले भयावह स्थितिबाट फर्किनेबित्तिकै आफूहरुको सुरक्षा खोसेर सरकारले निर्वाचनको वातावरण झनै बिथोलेको बताए । उनले भने, ‘अहिले चुनावको सम्भावना नै देखिँदैन । अब यसमा चुनावको वातावरण हामीले बनाउने होइन । हामीले के बिगारेको छ र ? त्यत्रो भयावह स्थिति भएर फर्किनेबित्तिकै हाम्रो सुरक्षा खोसियो । त्रासको वातावरण बनाइयो ।’

साथै, वर्तमान सरकारले चुनावको वातावरण बिर्गानका लागि जेन–जी आन्दोलनको क्रममा रहेका तत्कालीन गृहमन्त्री, प्रधानमन्त्रीलगायतलाई सरकारले पुर्जी काटेर बयानको लागि बोलाउनेजस्तो काम गरी चुनावको वातावरण बन्न नदिइरहेको उनले बताए । उनले परिस्थिति सप्रिएर निर्वाचन हुने सम्भावना नदेखिएपछि नै आफूहरुले संसद् पुनर्स्थापनाको एजेण्डा अगाडि बढाएको बताए ।

उनले भने, ‘मन्त्रीलाई पुर्जी काट्ने, प्रधानमन्त्रीलाई पुर्जी काट्छौं भनेर हल्ला चलाउने । छानविन गर्न गएको भनेको छ, कारबाही गर्छौं गर्छौं भनेर अन्तरवार्ता दिएको छ । यो निर्वाचनको वातावरण बनाएको हो र ? परिस्थिति सप्रिएर निर्वाचन हुने देखिँदैन । सरकारको ध्यान त्यतातिर केन्द्रीत भएको देखिँदैन ।’