आज महादेव शिवपुरी डाँडामा घाम ताप्न जाने, दिनभर पशुपतिनाथ मन्दिर बन्द रहने


काठमाडौं, पुस ११ । सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा बिहीबार रातभर धनुर्मास पूजा आराधना गरिएको छ । पुस महिनाभर सूर्य धनु राशिमा हुन्छन् । प्रत्येक वर्ष पुस महिनामा साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा आराधना गर्ने परम्परा छ । धनुर्मास पूजामा पशुपतिनाथका चारै जना भट्ट ब्राह्मण, पालोवाला भण्डारी, श्रीको भान्छे र अन्य ब्राह्मण पनि सहभागी हुने विधि छ।

धनुर्मास पूजा गर्नुअघि बिहीबार बिहान पशुपतिनाथलाई चिसोबाट बचाउन तातोपानीले स्नान गराइएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीले जानकारी दिए । बाला चतुर्दशीदेखि नै चिसो लाग्ने भएकाले पशुपतिनाथलाई तातोपानीले स्नान गराउने परम्परा छ । पानीमा बस्ने माछासमेत चिसोबाट बच्न पानीको सतहमुनि बस्ने मीनपचासको समयमा पशुपतिनाथलाई पनि चिसोबाट बचाउन धनुर्मास पूजासहित खिचडी खुवाउने वैदिक सनातनी परम्परा छ ।

धनुर्मास पूजापछि गेडागुडीबाट बनेको खिचडी पशुपतिनाथलाई खुवाइन्छ । पशुपतिनाथलाई आदिकलश, पञ्चामृत स्नान, तैलाम्भ्य, श्रीयन्त्र लेखन, श्रृङ्गार, श्री चक्रको पूजा, धुप, बत्ती र बालभोग अर्पण गरी मूलभोगका रूपमा भने खिचडी अर्पण गर्ने परम्परा छ। धनुर्मास पूजाका क्रममा अमालकोट कचहरीका तर्फबाट गएराती खिचडी भोग दिइएको छ ।

बिहीबार रातभर धनुर्मास पूजा गरेपछि शुक्रबार आज पशुपतिनाथलाई उपवास राख्ने गरिन्छ । उपवासका दिन बिहानै महादेव शिवपुरी डाँडामा गएर तोरीको तेल लगाएर घाममा शयन गर्नुहुने धार्मिक विश्वाससमेत रहेको छ । यसै विश्वासमा आज बिहानै पशुपतिनाथलाई तोरीको तेल लगाइन्छ । बेलुकी भने शिवपुरी डाँडाबाट घाम तापेर फर्कनुहुने विश्वासमा आरती गरिन्छ । शनिबार बिहानदेखि भने नियमित पूजा आराधना गरिन्छ । आज बिहानैदेखि बेलुकीसम्म भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द गरिन्छ। बिहान १२ बजेसम्म एउटा ढोका भने खोलिन्छ।