काठमाडौँ । स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले आगामी स्थानीय तहको निर्वाचनमा दलभन्दा बाहिरका ‘राम्रा र गैरदलीय’ व्यक्तिहरूलाई जिताउन राष्ट्रिय बहसको खाँचो औँल्याएका छन् ।
रिपोर्टर्स क्लब नेपालमा आयोजित दशैँ शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष धमलाले यसपालिको दशैँमा गाउँघर पुगेका नागरिकहरूसँग पिङ खेल्दा, चोक तथा चौतारीमा भेटघाट गर्दा स्थानीय तहलाई कसरी दलीय प्रभावमुक्त र विकासमुखी बनाउने भन्ने विषयमा व्यापक छलफल गर्न आग्रह गरे ।
“स्थानीय तहको विकास नभईकन देशको समग्र विकास असम्भव छ,” धमलाले भने, “७ सय ५३ वटै स्थानीय तहका वडादेखि पालिकासम्म राजनीति बुझेका र आफ्नो क्षेत्रको कायापलट गर्न सक्ने गैरदलीय उम्मेदवार कसरी उठाउने भन्नेबारे यसपालिको दशैँमा सबैले आ-आफ्नो गाउँमा बहस चलाउनुपर्छ । स्वतन्त्र नागरिक अभियानले यस्तै सक्षम नेतृत्वको खोजि गरिरहेको छ ।”
यसपालिको दशैँमा काठमाडौँ उपत्यका छाड्ने मानिसको संख्या विगतको तुलनामा घटेको उल्लेख गर्दै उनले भोटेकोशी, त्रिशूली र बूढीगण्डकीलगायतका नदीमा आएको विनाशकारी बाढीपहिरोका कारण देश शोक र संकटमा परेकाले उल्लासमय वातावरण बन्न नसकेको बताए ।
“अहिले विनाशकारी बाढीपहिरोले सडक भत्किएका छन्, सर्वसाधारणले राजमार्गमा सास्ती खेप्नुपरेको छ,” उनले थपे, “यद्यपि, अभियानको निरन्तर खबरदारीपछि सरकारले राजमार्गका होटलहरूमा निगरानी बढाएर बासी खाना खुवाउने प्रवृत्तिमा कडाइ गर्नु सकारात्मक कदम हो ।”
चाडपर्वहरू सहअस्तित्व, मेलमिलाप र राष्ट्रिय एकताका प्रतीक भएको बताउँदै धमलाले अब देशमा सुशासन, रोजगारी सिर्जना, उद्योगधन्दा सञ्चालन तथा किसानलाई सहजरुपमा मल र बीउ उपलब्ध गराउने जस्ता विषयमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए ।
शिक्षा र स्वास्थ्यलाई पूर्ण रूपमा निःशुल्क बनाउनुपर्ने माग राख्दै उनले अहिले सरकारको आलोचना गर्नुको साटो सकारात्मक सुझावको खाँचो रहेको बताए । साथै, उनले भ्रष्टाचारका विभिन्न काण्डहरूको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न रास्वपा सरकारसँग जोडदार मागसमेत गरे ।




प्रतिक्रिया