काठमाडौं, ११ पुस । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्व उपप्रधानमन्त्री डा.भीम रावलले आसन्न फागुन २१ गतेको निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी र एमालेबीच गठबन्धन र चुनावी तालमेलनको सम्भावना नै नरहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिले नेपालमा रहेका कम्युनिष्ट पार्टीबीच एकताको परिस्थिति निर्माण भइनसकेको बताएका हुन् । उनले भने, ‘अहिले कम्युनिष्ट पार्टीको नाममा थुप्रै दलहरु छन् । अहिले सबै एक ठाउँमा भएर जाने अवस्था छैन । ठूला राजनीतिक दलहरुको बीचमा त्यो परिस्थिति निर्माण भएको देखिँदैन ।’
साथै, उनले अब प्रतिनिधिसभा पुनर्स्थापना नभएर जनतामाझ ताजा जनादेश लिएर अगाडि बढ्नुपर्ने बताए । उनले एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा पुनर्स्थापनाको कुरा अगाडि सारेर सत्ताको खेलमा देशलाई भुमरीमा हाल्न खोजेको टिप्पणी गरे । अब जनताको ताजा जनादेश लिएर मात्र देशको समस्या समाधान गर्न सकिने उनको धारणा रहेको छ ।
‘प्रतिनिधिसभा पुनर्स्थापनाको कुरा उहाँले कोट्याउनुभएको छ । त्यो प्रतिनिधिसभा पुनर्स्थापना गरेर के चाहिँ गर्ने हो त ? कुरा स्पष्ट हुनुपर्यो नि । ताजा जनादेश लिएर अब समस्याको समाधान हुने देखिन्छ,’– उनले भने ।
उनले ओली–देउवाको सत्ताको घृणित खेलका कारण गत भदौ २३ र २४ गते देश भुमरीमा परेको टिप्पणी गरे । अब प्रतिनिधिसभा पुनर्स्थापना भएको खण्डमा फेरि देश भुमरीमा पर्ने बताए । प्रमुख राजनीतिक दलहरुबीचमा राजनीतिक सहमती नभएपछि त्यसको छिनोफानोका लागि जनताको बीचमा जानुको विकल्प नरहेको नेता रावलको भनाइ छ । ताजा जनमतबाट आफ्नो अस्तित्व पुष्टि गरेर राजनीतिमा आउनुको विकल्प नरहेको उनले बताए ।
अहिले नेपालको संवेदनशील भू–राजनीतिक अवस्था रहेको बताउँदै उनले निष्पक्ष, स्वतन्त्र र भयरहीत वातावरणमा निर्वाचन गराएर जसलाई जनताले मत दिन्छन्, उसैले नेतृत्व गरेर देशमा रहेका समस्याको समाधानतर्फ केन्द्रीत हुनुपर्ने बताए ।




प्रतिक्रिया