काठमाडौं, ११ पुष । २१ फागुनको निर्वाचन गराउने दायित्व बोकेको वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले चुनावको तयारीलाई तिव्रता पारेको छ । कांग्रेस र एमालेजस्ता ठूला राजनीतिक दलहरुले चुनावभन्दापनि प्रतिनिधिसभा पुनःस्थापनातर्फ ध्यान दिईरहेको बेलामा सरकारले भने दलसँगको सम्वाद बढाएको छ ।
योबीचमा प्रधानमन्त्री कार्कीले दलहरुसँग सम्वाद गर्नको लागि सम्वाद समितिसमेत गठन गरिसकेको छ । समितिको संयोजकको भूमिकामा कानूनमन्त्री अनिलकुमार सिन्हा छन् । यो समितिको तर्फबाट प्रमुख राजनीतिक दलहरुको पार्टी कार्यालय अवलोकन गर्नुको साथ नेताहरु पनि भेटिसकेको छ।
आजबाट भने सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाललाई भेटेका छन् । यी भेटमा सरकारले चुनावको तयारी गरेकोबारे मन्त्री खरेलले ब्रिफिङ गरेका हुन् ।
प्रधानमन्त्री कार्कीले भोलि (शनिबार) प्रधानमन्त्री निवासमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्ने तयारी गरेकी छिन् । प्रधानमन्त्रीको सचिवालयले तीनै जना शीर्ष नेतालाई पत्राचार गरिसकेको बताईन्छ । यसअघि प्रमुख तीन दलका नेतृत्वसँग प्रधानमन्त्री कार्कीले राष्ट्रपतिको कार्यालय शीतल निवासमा भेटवार्ता गरेकी थिईन् । उक्त भेटमा देउवा र ओलीले सरकारले चुनावको वातावरण नबनाएको भन्दै असन्तुष्टि पोखेका थिए ।




प्रतिक्रिया