गगन थापा र मबीच वार्ता भइराखेको छ, सहमति नभए प्रतिष्पर्धा हुन्छ : शेखर कोइराला (भिडिओ-सहित)


काठमाडौं, ११ पुष । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा १५औं महाधिवेशनमा सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले पार्टीको नयाँ नेतृत्व आएपछि देशको संकट समाधान गर्ने ठोकुवा गरेका छन् । उनले भने,”आज जसले जेसुकै भनोस, नेपाली कांग्रेसको नयाँ नेतृत्व आएपछि देशको संकट हामी समाधान गर्छौं । यो लेखेर राख्नुहोस । के खोज्या छ देशले ? सुशासन देउ भनेको छ । करप्सन नियन्त्रण गरोस भनेको छ । यो सकिन्छ ।” आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

उनले आफू र महामन्त्री गगन थापाबीच वार्ता भइराखेको र सभापतिमा आफूलाई साथ दिने विश्वास दिलाए । यद्धपी उनले आफू र गगन थापाबीच सहमति नभए प्रतिष्पर्धा हुने स्पष्ट पारे । उनले निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुने बताए । यसपटक १५औं महाधिवेशनमा कोइराला परिवार एक हुने पनि उनले विश्वास दिलाए । उनले शशांक कोइराला, कृष्ण सिटौला, प्रकाशमान सिंह सबैसँग कुराकानी भइरहेको जानकारी दिए । उनले पार्टीको महाधिवेशनको लागि क्रियाशिल सदस्य वितरण भइरहेकोले अहिले नै महामन्त्री डिक्लियर गर्ने समय नभएको बताए ।

उनले पार्लियामेन्टको चुनावमा प्रधानमन्त्रीको उम्मेदवार नहुने बताए । उनले चुनाव लड्दिनँ भनेर पार्टीका महामन्त्रीहरुले बोलेको कुरा गैरजिम्मेवार भएको टिप्पणी गरे । आफूले सुनिल शर्मालाई रवि लामिछानेसँग भेट गर्न नपठाएको पनि कोइरालाले स्पष्ट पारे । तर, सुनिल शर्माले लामिछानेसँग गरेको भेटलाई आफूले स्वभाविक रुपमा लिएको उनको भनाई छ ।

उनले नेपाली कांग्रेसले २१ फागुनमा हुने निर्वाचनमा भाग लिने निर्णय गरिसकेकोले अब कुनै द्धिविधामा नरहेको जिकिर गरे । तर, चुनावको लागि सरकारले शान्ति सुव्यवस्थाको वातावरण बनाउनुपर्नेमा उनले जोड दिए । उनले पार्टीले चुनावमा भाग लिने भनेर आधिकारिक निर्णय गरिसकेको बताए । तर, प्रतिनिधिसभा पुनःस्थापनाको लागि रिट लिएर गएका निवर्तमान सांसदहरुको निर्णय उनीहरुको व्यक्तिगत निर्णय भएको उनको भनाई छ । २१ फागुनमा निर्वाचन नभए देश अन्यौलमा जाने पनि उनले खतरा औंल्याए । उनले कांग्रेस निर्वाचनमा जान तयार रहेको स्पष्ट पारे । उनले कांग्रेसमा भित्र र बाहिर भन्ने कुरा नहुने उल्लेख गर्दै चुनावमा जाने निर्णय भएकोले त्यसको लागि तयार रहेको बताए ।