काठमाडौं, १४ पुस । नेपाल सरकारका पूर्व सचिव एवं सामाजिक अभियन्ता भीम उपाध्यायले पुराना दलहरुले आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचन रोक्न खोजिरहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले ठूला दलहरु निर्वाचनका लागि तयार नभइसकेको बताएका हुन् । यद्यपि अदालतलाई संसद् पुनर्स्थापनाको फैसला गर्न सहज नरहेको बताएका छन् । उनले भदौ २३ र २४ गतेको आन्दोलनमा अदालत नै ठूलो भिक्टिम भएको बताए ।
आगामी फागुन २१ गतेको चुनावपछि बालेन्द्र शाह भ्रष्टाचार अन्त्य गर्नका लागि प्रधानमन्त्री बन्न चाहेको पूर्व सचिव उपाध्यायले बताए । जेन–जी आन्दोलन पनि कुशासनको विरुद्धमा र सुशासनको लागि भएको उपाध्यायले बताए । कुशासन गर्ने लत लागेकाहरुले दमन गर्न खोज्दाखेरी जेन–जी आन्दोलन ध्वंसको रुपमा परिणत भएको उनको बुझाइ रहेको छ । ‘कुशासनको विरुद्धमा, भ्रष्टाचारको विरुद्धमा र यो देशलाई लुटेर खानेको विरुद्धमा छ । नेता भनेको भ्रष्ट हो, कर्मचारी भनेको भ्रष्ट हो, वकिल, पत्रकार भनेको भ्रष्ट हो भनेको बेलामा, बालेन र रास्वपाले सरकारका गएर भ्रष्टाचार पनि गरेको छैन,’– उनले भने ।
उनले प्रत्यक्षमा पुराना दलहरुले जिते पनि समानुपातिक भोटमा भने हावा खाने उनको दाबी छ । उनले ७५ प्रतिशतभन्दा बढी समानुपातिक मत नयाँ दल र शक्तिहरुले पाउने दाबी गरे । हर्क साम्पाङ, कुलमान घिसिङ, बालेन शाहलगायतका दलहरु परिवर्तनकामी रहेको उनको दाबी छ ।
उनले बालेन शाह युवाहरुको ढुकढुकी रहेको दाबी गरे । ‘बालेन शाह युवाहरुको ढुकढुकी हो । बालेनभन्दा डेढ गुणा उमेरको बढी रवि हुन् । तर, रविको पार्टी पनि युवाहरुकै पार्टी हो, पढेलेखेका युवाहरुको पार्टी हो,’– उनले भने ।
बालेनको रियल पोलिटिक्स अब सुरु भएको उनले बताए । अब बालेनको हरेक दिन र हरेक पाइला महत्वपूुर्ण रहेको पूर्व सचिव उपाध्यायले बताए ।




प्रतिक्रिया