काठमाडौं, १७ पुस । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले विशेष महाधिवेशनको लागि भन्दै हल बुकिङ गरेका छन् । बुधबार भृकुटीमण्डपमा विशेष महाधिवेशनका लागि हल बुकिङ गरिएको एक केन्द्रीय सदस्यले रिपोर्टर्स नेपाललाई जानकारी दिए । कांग्रेस महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाको सहमतिमा विशेष महाधिवेशनको लागि हल बुकिङ गरिएको बताइएको छ ।
‘बुधबार हामीले विशेष महाधिवेशनका लागि भनेर हल बुकिङ गरिसकेका छौं । विशेष महाधिवेशनको लागि महामन्त्रीहरु विश्वप्रकाश शर्मा र गगनकुमार थापा पनि सकारात्मक नै हुनुहुन्छ । अब विशेष महाधिवेशनको विकल्प छैन,’– ती केन्द्रीय सदस्यले भने ।
कांग्रेस १४औं महाधिवेशनका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको माग गर्दै केन्द्रीय कार्यालयमा हस्ताक्षर बुझाएका थिए । कांग्रेसको विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले माग गरेको खण्डमा ३ महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने हुन्छ । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएको यही पुस २८ गते ३ महिना पुग्दैछ ।
नियमित महाधिवेशनको मिति तोकिए पनि सो मितिमा पार्टीको १५औं महाधिवेशन नहुने पक्का भएपछि विशेष महाधिवेशन पक्षधरहरुले विशेष महाधिवेशनको तयारी थालेका हुन् । महामन्त्रीद्वय शर्मा र थापाले पनि विशेष महाधिवेशन बाध्यकारी रहेको बताउँदै आएका छन् । कांग्रेसको विधानअनुसार केन्द्रीय समिति वा केन्द्रीय कार्यालयले बोलाउन सक्ने छ । केन्द्रीय कार्यालय महामन्त्रीको मातहतमा रहने व्यवस्था छ ।




प्रतिक्रिया