फ्रान्समा विरोध प्रदर्शनपछि अनियन्त्रित हिंसा, म्याक्रोँद्वारा शान्ति कायम गर्न आग्रह


पेरिस । फ्रान्समा महँगी र जीवनयापनको बढ्दो लागतविरुद्ध भएको प्रदर्शन हिंस्रक बनेपछि राष्ट्रपति इम्यानुएल म्याक्रोँले शान्ति र सुव्यवस्था कायम गर्न आग्रह गरेका छन्। 

एलीस प्यालेसबाट राष्ट्रका नाममा सम्बोधन गर्दै उनले प्रदर्शनमा सहभागीहरूलाई स्थिति थप नबिर्गार्न चेतावनी दिएका हुन्। उनले भने, ‘हामी सबैले आक्रोश र लज्जा बोध गरेका छौँ।’

YQHPHYA65JKVVAHFPVVUN6XVLQ

इन्धनको मूल्यवृद्धि, जीवनयापनको उच्च लागत र विद्यालय लगायतका सार्वजनिक सेवामा आएको ह्रासको विरोधमा करिब ५ लाख ५० हजार प्रदर्शनकारीहरू सडकमा उत्रिएका थिए। प्रदर्शन सुरुमा शान्तिपूर्ण रहे पनि पछि उपद्रवमा परिणत भएको थियो। 

राष्ट्रपति म्याक्रोँले प्रदर्शनकारीहरूको ‘वैधानिक माग’ र ‘तोडफोड तथा लुटपाटमा संलग्न समूह’ बिच स्पष्ट भिन्नता हुनुपर्ने बताएका छन्। उनले यस्तो हिंसाको कुनै औचित्य नरहेको उल्लेख गर्दै संलग्नहरूलाई कानुनको दायरामा ल्याइने स्पष्ट पारे।

पेरिस, मार्से र लियोँसहितका सहरहरूमा कालो कपडा तथा मास्क लगाएका उपद्रवीहरूले गाडी र भवनहरूमा आगजनी गरेका छन्। आइतबार पनि राजधानीका केही भागमा लुटपाट र झडप जारी रह्यो। प्रहरीले प्रदर्शनकारीहरूलाई तितरबितर पार्न अश्रुग्याँस र स्टन ग्रेनेड प्रहार गरेको छ। 

लिमोग्स सहरको १९औँ शताब्दीको ऐतिहासिक नगर हल आगजनीबाट पूर्ण रूपमा नष्ट भएको छ। फ्रान्सको गृह मन्त्रालयका अनुसार घटनामा करिब २ हजार ४ सय मानिस पक्राउ परेका छन् भने १ हजारभन्दा बढी प्रहरी घाइते भएका छन्।

गत महिना विद्यार्थीहरूबाट सुरु भएको यो आन्दोलनमा ट्रेड युनियनका सदस्यहरू र अन्य सरकारविरोधी समूहहरू सामेल भएपछि स्थिति थप तनावपूर्ण बनेको हो। आगामी अप्रिलमा हुने निर्वाचन नजिकिँदै गर्दा यस घटनाले फ्रान्सेली राजनीतिमा रहेको गहिरो विभाजनलाई छताछुल्ल पारेको छ। 

गृहमन्त्री लोरियाँ नुनेजले अति वामपन्थी समूह र उपद्रवीहरूले सार्वजनिक सम्पत्ति र प्रहरीलाई लक्षित गरेको आरोप लगाएका छन्। अर्कातर्फ, विपक्षी नेता जाँ-लुक मेलेन्चोनले सरकार र प्रहरी नेतृत्वको असक्षमताका कारण यो स्थिति आएको दाबी गरेका छन्। 

त्यस्तै, दक्षिणपन्थी नेता मारिन ल पेनले जनताको आक्रोशलाई हिंसा फैलाउने राजनीतिक तत्त्वहरूले दुरुपयोग गरेको भन्दै आलोचना गरेकी छन्। एजेन्सी

Skip This