बुटवल । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई गरिएको नियुक्ति तत्काल खारेज गर्न लुम्बिनी बचाउ महाअभियानले सरकारसँग माग गरेको छ। अभियानले आइतबार पत्रकार सम्मेलन गर्दै नियुक्तिप्रति असहमति जनाउँदै वित्तीय पारदर्शिता, सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान र नागरिकताको वैधानिकताबारे उठेका प्रश्नको निरूपण हुनुपर्ने बताएको छ।
पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा विवादित विषयहरू स्पष्ट नभइसकेको अवस्थामा अन्तर्राष्ट्रिय धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको लुम्बिनी विकास कोषको नेतृत्व सुम्पिनु उपयुक्त नहुने अभियानको धारणा उल्लेख छ।
अभियानले सन् २०१९ मा हङकङबाट स्रोत नखुलेको १६ लाख ४९ हजार ९४० अमेरिकी डलर अर्थात् करिब १८ करोड ३१ लाख रुपैयाँ आनी छोइङ डोल्माको खातामा आएको दाबी गरेको छ। उक्त रकमको विषयलाई लिएर नेपाल राष्ट्र बैंक र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बैंक खाता रोक्का गरी छानबिन अघि बढाएको दाबीसमेत विज्ञप्तिमा गरिएको छ। अभियानले रकमको स्रोत र वित्तीय कारोबारको पारदर्शिताबारे स्पष्ट जानकारी सार्वजनिक गर्न माग गरेको छ।
त्यसैगरी, आनी छोइङ डोल्माको आत्मकथा ‘फूलको आँखामा’ उल्लेखित उनका मातापिता तिब्बती शरणार्थीका रूपमा नेपाल आएको प्रसङ्गलाई आधार बनाउँदै अभियानले उनको नागरिकताको वैधानिकतामाथि प्रश्न उठाएको छ। नक्कली बुबा खडा गरेर किर्ते विवरणका आधारमा वंशजको नागरिकता लिएको आरोपसमेत सार्वजनिक भएको भन्दै यसबारे सम्बन्धित निकायबाट स्पष्ट पारिनुपर्ने अभियानको माग छ। यी विषयहरू अभियानले उठाएका आरोप तथा प्रश्न हुन्।
लुम्बिनीको विकास, संरक्षण र प्रवर्द्धनमा योगदान पुर्याउन सक्ने स्थानीय बुद्धिजीवी, बौद्ध धर्मका जानकार तथा योग्य व्यक्तित्वलाई नियुक्तिका क्रममा बेवास्ता गरिएको आरोप पनि अभियानले लगाएको छ।
अभियानका अध्यक्ष अक्रम खानले गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वभरका बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र भएकाले यसको व्यवस्थापन गर्दा धार्मिक महत्त्व, संस्थागत पारदर्शिता र स्थानीय जनताको भावनालाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
आफ्ना माग सम्बोधन नभए स्थानीय जनताको साथ लिएर चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत अभियानले दिएको छ। आन्दोलनबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।




प्रतिक्रिया