जेन-जी आन्दोलनपछिको अवस्थामा देशको उत्तम विकल्प निर्वाचन होः प्रचण्ड


काठमाडौं, १८ पुस । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश, जनता र संविधान बचाउन समाजवादी एकता भएको बताएका छन् । आज खाँदबारीमा आयोजित नेपाली कम्युनिष्ट पार्टी सङ्खुवासभाको एकता सन्देशसभामा संयोजक दाहालले संविधान बचाउन वामपन्थी र समाजवादी एकता गरिएको बताए ।

उनले जेनजी आन्दोलनपछिको अवस्थामा देशको उत्तम विकल्प निर्वाचन नै भएको बताए । सङ्कटमा परेको राष्ट्रलाई निकास दिन वामपन्थी र समाजवादी शक्ति मिल्नुको विकल्प नभएको उनको भनाइ थियो । संयोजक दाहालले हालै देखिएको जेनजी आन्दोलनले देशको शासन प्रणाली र समग्र परिस्थितिबारे नवयुवाहरू सचेत र जिम्मेवारीपूर्ण ढङ्गले आन्दोलित हुन चाहेको स्पष्ट पारे । जेनजी आन्दोलनको उपलब्धि रक्षा गर्न नेपाली कम्युनिष्ट पार्टी सच्चिएर अघि बढ्ने बताए ।