काठमाडौं, १९ पुस । राष्ट्रिय सभाको निर्वाचन नजिकिएसँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान निर्माणकर्ता दलहरूबीच चुनावी सहकार्यको रणनीति अपनाउन लागेका छन् । सभापति देउवाले पार्टीका नेता रमेश लेखकलाई दूतको रुपमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न पठाएका छन् ।
ओली र प्रचण्डलाई भेटेर कांग्रेस नेता लेखकले सभापति देउवाको प्रस्ताव सुनाएकाे बताइएकाे छ । राष्ट्रिय सभा र प्रतिनिधिसभा निर्वाचनमा तालमेलका विषयमा ओली, प्रचण्ड र कांग्रेस नेता लेखकबीच कुरा भएको छ ।
लेखकले एमाले अध्यक्ष ओलीलाई दुई पटक भेटेर तालमेलका बारेमा छलफल गरेको स्रोतले बताएको छ । स्रोतका अनुसार लेखक र ओलीबीच पछिल्लो भेट गत शुक्रबार विहान भएको थियो । कांग्रेस नेता लेखकले यही साता प्रचण्डसँग पनि चुनावी तालमेल र सहकार्यका बारेमा लामो छलफल गरेका थिए । सो छलफलमा नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल पनि सहभागी थिए ।
देउवाको प्रस्तावमा ओली र प्रचण्ड सकारात्मक रहेको बताइएको छ । छलफलको केन्द्रमा अहिले राष्ट्रिय सभा निर्वाचन रहेको र त्यसपछि उक्त गठबन्धनलाई आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनसम्मै लैजाने रणनीतिमा देउवा रहेको बताइएको छ ।
राष्ट्रिय सभामा १९ सिट रिक्त हुँदैछ । सो मध्ये एक सिटमा राष्ट्रपतिबाट मनोनित भएर आउने छन् भने बाँकी १८ सिटका लागि माघ ११ गते चुनाव हुँदै छ । राष्ट्रिय सभा निर्वाचनको लागि यही पुस २३ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
यसपटक म्याद सकिने राष्ट्रियसभा सदस्यहरुमा एमालेबाट ८, मनोनीत वामदेम गौतमसहित नेकपाका नेकपाबाट ९, जनता समाजवादी पार्टी नेपालबाट १ र लोकतान्त्रिक समाजवादी पार्टीबाट १ जना रेहका छन् । १८ सिटका लागि हुने निर्वाचनमा दलीय हैसियतअनुसार सिट बाँडफाँडको तयारी भइरहेको बताइएको छ ।
जसमा देउवाले कांग्रेसलाई ८ सिट, एमालेलाई ६ सिट, नेपाली कम्युनिष्ट पार्टीलाई ३ सिट र मधेशवादी दललाई एक सिटको प्रस्ताव पठाएका छन् । एमाले र नेपाली कम्युनिष्ट पार्टी मिलेको खण्डमा कांग्रेसले एक सिट पनि नजित्ने भएपछि राष्ट्रिय सभामा देउवाले चुनावी तालमेलको रणनीति अपनाएका हुन् । राष्ट्रिय सभाको निर्वाचनका लागि दलहरु एक्लाएक्लै निर्वाचनमा होमिएको खण्डमा भने कांग्रेसले १५ र एमालेले ३ सिट जित्ने र नेपाली कम्युनिष्ट पार्टी निल जाने निश्चित छ । चुनावमा ओली–प्रचण्ड मिल्नसक्ने भयले देउवाले सहकार्यको प्रस्ताव पठाएका हुन् ।
यता प्रतिनिधिसभा निर्वाचनमा पनि कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच चुनावी तालमेल हुने सम्भावना बढेर गएको छ । युवाहरुको आकर्षणको केन्द्रमा रहेका रवि लामिछाने, बालेन्द्र शाह र कुलमान घिसिङ एउटै पार्टीबाट चुनाव लड्ने तयारी गरिरहँदा पुराना भनिएका दलहरुमा भुइँचलो गएको छ । पुराना दलहरु पनि आफ्नो विरासत जोगाउनकै लागि भए पनि चुनावी तालमेलको रणनीति अपनाउने तयारीमा छन् ।




प्रतिक्रिया