मेलम्चीका दुई विद्यालयमा न्यानो लुगा वितरण


काठमाडौं, २२ पुष । मेलम्ची नगरपालिकाका दुई विद्यालयका छात्रछात्रालाई न्यानो कपडा वितरण गरिएको छ । नेपाल भूतपूर्व सैनिक सङ्घ सिन्धुपाल्चोक जिल्लाको आयोजनामा यसका केन्द्रीय कोषाध्यक्ष भूपेन्द्र थापाको नेतृत्वमा सो कार्य सम्पन्न भएको हो । मेलम्ची–२ को निबुगाउँ आधारभूत विद्यालय एवं मेलम्ची–३ को कालिकाशरण आधारभूत विद्यालयका विद्यार्थीका साथै स्थानीय अशक्त, वृद्धवृद्धा र एकल महिलालाई न्यानो कपडा एवं विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो । यस्तो सहयोगबाट पाउनेमा दुई नम्बर वडाबाट २६ जना र तीन नम्बर वडाबाट ३५ जना लाभान्वित भएका थिए ।

नेपाल भूतपूर्व सैनिक सङ्घ सिन्धुपाल्चोक जिल्लाको आयोजनामा गत शनिबार सम्पन्न सो अवसरमा केन्द्रीय कोषाध्यक्ष भूपेन्द्र थापा, जनप्रतिनिधि मेलम्ची–२ का वडा सदस्य श्याम सापकोटा, बागमती प्रदेश कार्यसमितिका सचिव बुद्धिबहादुर तामाङ, सिन्धुपाल्चोक जिल्ला अध्यक्ष कुलबहादुर राउत एवं सङ्घका शुभचिन्तक, सरस्वती माध्यमिक विद्यालय भोटेचौरका व्यवस्थापन समितिका अध्यक्ष कुमार चौलागाईं एवं निबुगाउँ आविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थलबहादुर तामाङ, बाबुकाजी गुरुङ, प्रधानाध्यापकद्वय बलराम चौंलागाईं तथा सूर्यप्रसाद आचार्य शिक्षकशिक्षिका, स्थानीयवासी एवं समाजसेवीको उपस्थिति थियो ।

सो न्यानो कपडा एवं विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रम कोषाध्यक्ष भूपेन्द्र थापाको सहयोग एवं अन्य शुभचिन्तकको सक्रिय सहयोगले सम्पन्न भएको थियो । शिक्षक रमेश कोइरालाद्वारा सञ्चालित सो कार्यक्रमका वक्ता कोषाध्यक्ष भूपेन्द्र थापाले उपलब्ध सो सामग्रीले सहयोग पाउने सबैलाई केही सहयोग भएको भन्दै प्रसन्नता व्यक्त गरेका थिए । रचनात्मक र सिर्जनात्मक परिवर्तन आफैंबाट सुरु गर्नुपर्छ भन्ने विचारबाट अभिपे्ररित थापाले यसअघि धेरै ठाउँमा सहयोग गर्दै आउनुभएको छ ।